रिलेसनसिपमा रहँदा उत्साह मिल्छ

एक दशकअघि रिनासा राई पाँचथरको फिदिमबाट काठमाडौं आउँदा रिमिक्स गीत चल्तीमा थियो। सानैदेखि नृत्यमा पारंगत उनले राजधानी आएपछि ‘चियाबारीमा’, ‘बनमा फुल्यो फूल’, ‘मै छोरी सुन्दरी’’, ‘मै ठूली भइछु रे’, ‘पछि लाग्नु पर्दैन’जस्ता चर्चित म्युजिक भिडियोको कोरियोग्राफी गर्ने मौका पाइन्।
राजधानी आएको छोटो समयमै आफ्नो पहिचान बनाउन सफल उनी पेसाले डान्स कोरियोग्राफर भए पनि उनको क्रेज चल्तीका नायिका, गायिका एवं मोडेलभन्दा कम छैन।’पर्दापछाडि रहेर काम गरे पनि सबैले चिन्छन्, मेरो लागि यो गौरवको कुरा हो’, आफू सेलिब्रेटी बन्नुको कारण खोल्दै उनी भन्छ्, ‘हामी क्यामेरापछाडि बसेर काम गर्ने मान्छे भए पनि आफूलाई मेनटेन गर्न सक्नुपर्छ। समयअनुसार चल्नुपर्छ, हेलचेक्र्याइँ गर्नुहुन्न।’
रिनासा अहिले छायांकनका क्रममा रहेका प्रेम गीत, वीर विक्रम, क्लासिक, प्रिन्स, हाउ फन्नीजस्ता चलचित्रमा व्यस्त छिन्। चलचित्र ‘मेरो एउटा साथी छ’मार्फत रजतपटमा कोरियोग्राफी करियर सुरु गरेकी उनले पहिलो चलचित्रबाट नेसनल अवार्ड हात पार्न सफल भइन्।
त्यसपछि ब्याज नम्बर १६, झोले, भिजा गर्ल, चपली हाइट, मेरो लभ स्टोरी, मालतीको भट्टी, सुन्तलीलगायत दुई दर्जन चलचित्रमा डान्स कोरियोग्राफी गरिसकेकी उनको विचारमा हरेक कोरियोग्राफरमा नृत्यसम्बन्धी ज्ञान, चलचित्रको कथा, गीतको भाव, कम्पोज गर्ने शैली र प्राविधिक पक्षको जानकारी हुन आवश्यक छ।
सन् २००७ मा थाइल्यान्डबाट नृत्य प्रशिक्षण लिएकी उनी नेपाल फर्केपछि काम गर्दै अगाडि बढ्ने क्रममा यो स्थानसम्म आइपुगेको बताउँछिन्। ‘लगभग तीन दर्जन म्युजिक भिडियोमा कोरियोग्राफी गरेपछि चलचित्रबाट अफर आयो।
त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैनु, २८ वर्षीया रिनासा भन्छिन्, ‘यो क्षेत्रमा म एकदमै खुसी छु । चलचित्र क्षेत्र व्यावसायिक बनेको छ, कोरियोग्राफीको माग र महत्व बढेको छ।’
ग्ल्यामरस कोरियोग्राफरको छवी बनाएकी रिनासाको लक्ष्य चलचित्र निर्देशन गर्ने रहेको छ। ‘सन् २०१७ मा मैले कोरियोग्राफी सुरु गरेको एक दशक पूरा हुन्छ। त्यसपछि म चलचित्र निर्देशनमा लाग्नेछु। चलचित्र निर्देशनका लागि अफर त आइरहेको छ तर अहिले म सिक्ने क्रममा छु’, उनी भन्छिन्।
पछि विवाह गर्ने योजना बनाएकी रिनासा आफू रिलेसनसिपमा रहेको कुरा स्वीकार्छिन्। ‘रिलेसनसिपमा रहँदा खुसी र उत्साह मिल्छ। प्रोत्साहन दिने मान्छे हुँदा खुसीमात्रै होइन, कामका लागि प्रेरणा पाइन्छ । यसले मलाई अगाडि बढ्न सजिलो भएको छ’, रिनासा प्रस्ट्याउँछिन्।
कोरियोग्राफर रिनासा राईले चल्तीमा रहेका अधिकांश नायकनायिका एवं मोडेललाई नचाइसकेकी छन्। उनको अनुभवमा नचाउन सजिला पाँच नायक र नायिका को को हुन् त?
नायिका
प्रियंका कार्की 
नृत्‍यमा प्रियंकाको आफ्‍नै शैली छ। उहाँ मेहनती मिलनसार हुनुहुन्छ।
नम्रता श्रेष्ठ 
नम्रता आफ्‍नो कामममा जति सिन्सियर बन्‍नुहुन्छ त्‍यत्तिकै प्रोफेसनल पनि लाग्छ।
हेमा श्रेष्ठ 
पछिल्‍लो पुस्तामा हेमा प्रतिभावान् नायिका भए पनि अलि अनपङ्चुअल लाग्छ।
केकी अधिकारी 
आफ्‍नो काममा केकी साह्रै मेहनती र काम गर्न सजिलो पनि  हुनुहुन्छ।
नायक
आर्यन सिग्देल
मेरो पहिलो चलचित्रमै आर्यनसँग काम गर्ने मौका पाएँ।उहाँको एक्‍सप्रेसन प्रभावकारी छ।
जीवन लुइँटेल 
सिकाएको कुरालाई आफ्‍नै शैलीमा ढालेर नृत्‍य गर्न सक्‍ने जीवनको क्षमता राम्रो लाग्छ।
अनुपविक्रम शाही 
अनुपम जति स्टाइलिस,  नृत्‍य पनि त्‍यतिकै राम्रो छ। हेरोइजम झल्कने व्यक्तित्व छ।
दयाहाङ राई 
दयाहाङको  सिम्‍प्लिसिटी साह्रै  प्रभवकारी छ। उहँको शैली पनि अरूभन्दा पृथक् छ।
अन्नपूर्णपाेष्टबाट