
प्रमुख दलहरूको एकता नै अहिलेको बाटो
संविधानमा नागरिकतासम्बन्धी धेरै फितला प्रावधानबारे आम नेपालीका मनमा चसक्क चिसो नपसेको होइन। विभिन्न बहानामा देशको नागरिकता प्राप्तिका प्रावधानहरू फितलो पारिँदा स्वयं मधेसी जनताको पनि हित हुँदैन भन्ने तराईका बुद्धिजीवीहरूले पनि नबुझेको कुरा थिएन।
हिमाल-पहाड-तराई जोड्ने गरी नै सबै प्रदेशहरू बनाइनु पर्दछ भन्ने नै अत्यधिक नेपालीको चाहनाको विषय थियो। त्यो चाहना खण्डित हुँदा पनि जनताले धेरै ठूलो उत्साहका साथमा संविधानको स्वागत गरेका थिए। मित्रराष्ट्रका तर्फबाट गरिएको अमित्रताको झापडलाई पनि नेपालीले सहन तयार भएकै थिए।
नाकाबन्दी लागेको १५ दिनमै तेल सकिएर पैदलै हिँड्नुपर्दा र ग्यास सकिएर दाउरा खोज्न हिँड्नुपर्दा पनि नेपालीको मुहारबाट हाँसो र उत्साह हराएको थिएन। हिजोका दिनसम्म नेपालीमा अदम्य उत्साह र जाँगर थियो।
अनेक संकट थपिँदै जाँदा पनि नेपालीमा उत्साह कायमै रहनुका पछाडिको मूल कारण थियो- नेकपा एमाले, नेपाली कांग्रेस र एमाओवादी जस्ता व्यापकत्तम जनाधार भएका पार्टीहरूले राष्ट्रवादी अडानका साथमा परस्पर एकता कायम गरेको परिघटना। यही एकता देखेर नै नेपाली जनताले अदम्य साहस र उत्साह देखाएका हुन्।
यही एकताबाट सिर्जिएको ऊर्जाको उज्यालोका कारणले नै नेपाली जनताका बीचमा साम्प्रदायिक सद्भाव खल्बलिन पाएको छैन। नेपाली जनतालाई साम्प्रदायिक झगडामा फसाउन चाहनेहरू प्रमुख राजनीतिक पार्टीहरूको एकताका कारणले नै अहिलेसम्म सफल हुन सकेका छैनन्। आजका दिनबाट भने नेपालीको मुहारबाट हाँसो हराएको छ र खिन्नताको बादलले ढाकेको छ।
नेपाली जनताको मुहारबाट हाँसो हराउनु र तिनका मनमा अनेकन आशंका जन्मिनुका पछाडिको एउटै कारण रहेको छ-संविधान निर्माणमा नेतृत्व लिने प्रमुख ठूला दलहरूको एकता खल्बलिने खालका गतिविधिको समाचार।
नेपाली जनतालाई थाहा छ-यो देशको कांग्रेस र कम्युनिस्ट शक्ति एकजुट– एक ढिक्का भएर नअडिएको भए वर्तमान संविधान कुनै हालतमा पनि बन्ने थिएन।
सत्ताकै कारणले नेपाली राजनीतिक दलहरूको एकता टुट्ने संकेत देखिएकाले जनताको मनमस्तिष्कबाट संविधान निर्माणका बेला देखिएको उत्साह समाप्त हुने परिस्थिति देखा परेको छ।
संविधान निर्माण गरेर जारी गर्नु ‘फलामको च्युरा चपाउनु’ जस्तै गाह्रो काम थियो भने यसलाई लागू गर्नु हाम्रो तराईको भनाइअनुसार त्यही फलामको च्युरा नाकले चपाउनुभन्दा कम्ती गाह्रो छैन। राष्ट्रमाथि नाकाबन्दीको संकट थोपरिएको मात्रै छैन, हामी नेपालीलाई पहाडी र मधेसी भनेर लडाउने र त्यही आगोमा देश नै खरानी पार्ने षड्यन्त्र पनि साथसाथै चलिरहेको छ।
अझ त्यसमाथि जाति-जनजातिलाई पनि आपसमा लडाउने तानाबाना बुनिएकै छ। यस्तो अवस्थामा जनताले सके सबै दलहरू र त्यो नभए कम्तीमा पनि एमाले-कांग्रेस-एमाओवादीका बीचमा इस्पातिलो एकता भएको हेर्न चाहेका थिए । जनताको चाहनाविपरीत यी दलहरूका बीचमा अहिल्यै प्रतिस्पर्धा वा टक्करको अवस्था सिर्जना हुनु खेदजनक छ।
एमाले र एमाओवादीका शीर्ष तहका नेताहरू भनिरहनुभएको छ, ‘सोह्रबुँदे समझदारी’ गर्दाका बेला प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरूका बीचमा भावी नेपालको राजनीतिबारे भद्र सहमति भएको थियो। हामीलाई बताइएअनुसार त्यो भद्र सहमति भनेको नेपाली कांग्रेसको नेतृत्वको सरकारका पालामा संविधान जारी गर्ने, त्यसपछिको सरकारको नेतृत्व एमालेले गर्ने र अब आउने संसदीय निर्वाचनका समयको सरकारको नेतृत्व एमाओवादीले गर्ने भन्ने नै थियो।
नेपाली कांग्रेसका तर्फबाट एकलौटी रूपमा त्यो भद्र सहमति तोड्नुपर्ने कुनै कारण उत्पन्न भएको छैन। एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको उम्मेदवारीविरुद्ध कांग्रेसले दिएको उम्मेदवारीलाई विवेकशील नेपालीहरूले पटक्कै नरुचाएको अवस्था छ।
उतिखेर ‘नेताहरूका बीचमा यस्तो भद्र समझदारी भयो रे’ भन्ने चर्चा चलेका बेला कांग्रेसलाई राम्रोसँग चिन्ने एकजना वरिष्ठ बुद्धिजीवीले ठूलै जमघटका बीचमा भनेका थिए, ‘कांग्रेसले लिखित सम्झौता त पालना गर्दैन, अझ अलिखित सहमति पालन गर्ला भनेर पत्याउने एमाले र एमाओवादीका नेताहरू फेरि पनि थांग्रोमा सुत्ने भए अब !’
के कांग्रेसले प्रमुख दलहरूका बीचको एकता तोडिँदा एमाले र एमाओवादी मात्रै थांग्रोमा सुत्ला भन्ने सोचेको छ?यहाँ चिन्ता नेपाली कम्युनिस्टहरूको नेतृत्व कतिपटक कांग्रेसको असहिष्णुताको चिसोले भिजेको थांग्रोमा सुत्ला भन्ने पटक्कै होइन। यहाँ चिन्ता त कांग्रेसी चालाकै कारणले सिंगो देश र यसको स्वाभिमान पछारिएला कि भन्ने हो, नयाँ संविधान असमयमै थांग्रोमा सुताइएला कि भन्ने हो।

बुझेर वा नबुझेर जनताले धेरै आशा गरेका एकजना कांग्रेसी नेताले आफ्नो केन्द्रीय बैठकमा यसो भने भन्ने समाचार आयो-‘प्रमुख दलहरूका बीचको एकताको अमूर्त कुरा गरेर काम छैन। केका लागि एकता गर्ने भन्ने स्पष्ट हुनुपर्दछ।’ ती नेताले किन बुझ पचाए, उनैले जानून्। समग्र कांग्रेसले नै किन बुझ पचाएको छ, भोलिका दिनमा जनताले थप थाहा पाउलान्।
एमालेले आफ्ना अध्यक्षलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ। यसलाई सफलतामा टुंग्याउन कांग्रेसले आधिकारिक रूपमा सघाउनु नै बुद्धिमानी हुनेछ। यसविरुद्ध कांग्रेस लाग्यो भने आउने चुनावमा जनताले त्यसको हुर्मत अवश्य लिनेछन्।
अहिले राष्ट्रको अस्तित्व र एकतालाई भित्र र बाहिरबाट खुलमखुला लल्कारिएको छ। यसको प्रतिवाद गर्न दलहरूका बीचमा एकता आवश्यक छ। यति दुःखले बनाएको संविधानलाई देशको एउटा अति अल्पमतको अतिवादी हिस्साले जलाएको छ।
संविधान मात्रै होइन, संविधानको समर्थन गर्नेहरूका घर पनि जलाइएका छन् । त्यही जलेको घाउमा मलम लगाउन कम्तीमा पनि तीनदलीय एकता आवश्यक छ। हामी तमाम नेपाली जनतालाई हाउगुजी देखाएर तर्साउनेहरूलाई भगाउन पनि प्रमुख दलहरू एकजुट हुनैपर्छ। जुन एकताले संविधान बनायो, त्यही एकताले मात्रै यसलाई अखण्डित रूपमा लागू गर्न सक्छ। संविधानको सफल कार्यान्वयनका लागि पनि प्रमुख दलहरू मिल्नैपर्छ।
हुन त हाम्रो तराईमा ‘जैसी करनी, वैसी भरनी’ (जस्तो काम गर्यो, फल पनि त्यस्तै पाइन्छ) भन्ने उखान छ। राजनीतिमा गल्ती गर्नेले मात्र सजाय पाउँदो रहेनछ। घरको भेद शत्रुपक्षलाई बुझाउने विभीषणले मात्रै सजाय कहाँ पायो र, समग्र लंका समाप्त भयो।
सिँचाइ गर्ने मुहानमा विष हाल्दा विषवाहक मात्रै मर्दैन, अरू पनि सखाप हुन्छन् भन्नेतर्फ गैरकांग्रेसीजनले सोच्नुपर्छ। नेपालको कम्युनिस्ट र कांग्रेसी शक्ति विभाजित हुँदा जहिले पनि जनताले हारेका छन् र एकजुट हुँदा जितेका छन् भन्ने कुरालाई किन कांग्रेसीजनले बुझ्न चाहेनन् वा त्यहाँभित्रका बुझेकाहरूले यस निष्कर्षलाई लागू गर्न सकेनन् भन्ने कुरा ज्यादै ताज्जुबको विषय रहेको छ।
वर्गीय विश्लेषणको गहिराइमा गएर हेर्ने हो भने साना तथा गरिब राष्ट्रहरू आफैँमा शोषित-उत्पीडित वर्गभित्र पर्दछन्। यसैले यस्ता देशमा लामो समयसम्म राष्ट्रिय पुँजीपति वर्ग र श्रमिक वर्गका बीचमा दह्रो एकता हुनुपर्दछ। नेपालमा यसको अर्थ हो- कांग्रेस र कम्युनिस्टहरू राष्ट्र निर्माणका सन्दर्भमा अलि लामो समयसम्म मिलेरै जानु पर्दछ।
यिनलाई आपसमा चुनावी प्रतिस्पर्धा नगर भनेर कसैले भन्ने छैन। चुनावमा प्रतिस्पर्धा गर्नु र राष्ट्रिय मामिलामा एकजुट हुनु भिन्नभिन्न कुरा हुन्। नेपाली कम्युनिस्टहरू कांग्रेसलाई राष्ट्रवादी शक्तिका रूपमा हेर्न चाहन्छन्।
राष्ट्रवाद भनेको राष्ट्रिय हितका सन्दर्भमा देशभित्रका शक्तिहरू आपसमा रहेका तमाम मतभेद बिर्सेर एकजुट हुनु हो। संकटको बेला विभाजित बन्ने तर राष्ट्रवादको कुरा गर्ने काम पाखण्ड सिवाय केही पनि होइन।
हामीलाई नाकाबन्दी लगाउन शक्तिले यो देशका कांग्रेस र कम्युनिस्ट शक्ति आपसमा कहिल्यै नमिलून् भन्ने चाहन्छ । नेपालका प्रमुख राजनीतिक शक्तिहरूलाई एकजुट हुन नदिन जासुसी संस्थाहरूसहितको एउटा ठूलै जमात नेपालमा अड्डा जमाएर बसेको छ। के हामी नेपाली तिनकै षड्यन्त्रको गोटी बन्न सधैँभरि अभिशप्त नै छौँ त? यसपालि यसको जबाफ कांग्रेसले नै दिनुपर्दछ।
कांग्रेसले एकपटक अति गोप्य रूपमै भए पनि आफ्ना कार्यकर्ताको अभिमत बुझोस्। उसले पाउनेछ-अहिले एमालेविरुद्ध अर्घेल्याईं गर्र्ने कामले स्वयं कांग्रेसको विश्वसनीयता र छविमा व्यापक मात्रामा आघात पुग्नेछ।
एकजना कांग्रेसी नेताले आफ्नो केन्द्रीय बैठकमा यसो भने भनेर पनि समाचार आयो, ‘एमालेको नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुनु हुँदैन।’ यस्तो कुरालाई बिर्तावाल वा जमिनदारी सोच भनिन्छ। बिर्तावाल र जमिनदार भएर हैकम चलाउने दिन गए अब भन्ने त सबैले बुझ्नैपर्ने हो।
एमालेले आफ्ना अध्यक्षलाई सर्वसम्मत रूपमा प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ। यसलाई सफलतामा टुंग्याउन कांग्रेसले आधिकारिक रूपमा सघाउनु नै बुद्धिमानी हुनेछ। यसविरुद्ध यताउती गर्ने काममा कांग्रेस लाग्यो भने आउने चुनावमा जनताले त्यसको हुर्मत अवश्य लिनेछन्। जनताले गल्तीको सजाय त अवश्य दिन्छन्, दिन्छन् तर तबसम्म देश धेरै डुब्ने हो कि?यसतर्फ भने विचार पुर्याउनैपर्छ।






