हास्य कलाकार शिवहरि पौडेल दर्शकमाझ ‘मुखमा हानु जस्तो’ थेगोबाट बढी चिनिएका छन्। जितु नेपालसँग मिलेर ११ वर्षदेखि टेलिचलचित्र ‘जिरेखुर्सानी’ लेखन, निर्माण, निर्देशन एवं अभिनय गर्दै आएका पौडेलको कलाकारिता यात्रा २०४५ सालदेखि सुरु भएको हो।
सुनील पोखरेल, सरोज खनाललगायतले सुरु गरेको आरोहणमा हुने नाटक हुँदै २०४७ सालदेखि सडक नाटक गर्न थाले।लय संग्रौलाको ‘ऊ अब एक्लो छैन’ टेलिशृंखलाबाट टेलिचलचित्रमा अभिनय सुरु गरेका उनले घरभित्रको दुश्मन, समस्यै समस्या, सन्ध्या सारस आदिमा अभिनय गरे पनि सय भागको टेलिचलचित्र ‘देवी’ले लोकप्रिय बनायो।
बद्री अधिकारीको निर्देशनमा बनेको ‘दुश्मन’बाट ठूलो पर्दामा अभिनय सुरु गरेका पौडेलले चार दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। बहुप्रतिभाशाली कलाकार पौडेल बैंसमा कस्ता थिए त, उनकै शब्दमा।
नाइटमा पढ्दै काम
मैले टेस्ट पास गर्नासाथ २०३८ सालबाट नेपाल आयल निगममा जागिर खान थालेँ । एसएलसीपछि कमजोर आर्थिक अवस्थाका कारण जागिर छाड्न मन लागेन।
बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्मै काम गर्नुपर्ने हुनाले क्याम्पस पढ्न जान भ्याइनँ। त्यसैले काठमाडौंमा मर्निङ र नाइट क्याम्पस हुन्छन् रे भन्ने सुनेपछि आफ्नो जन्मथलो अमलेखगन्जबाट जागिर यतै सरुवा गरेर २०४० सालमा काठमाडौं आएँ।
यहाँ आएर पाटन क्याम्पसमा भर्ना भएर काम गर्दै गरेको दुई वर्ष पनि नबित्दै नेपाल राष्ट्र बैंकमा नाम निकालेँ। गत वर्षमात्रै मैले उपनिर्देशक पदबाट अवकाश लिएँ।
पाटन क्याम्पसमा अर्थशास्त्रमा पढ्दै गर्दा एक दिन पत्रिकामा अभियान समूहमा कलाकारिता सिक्न चाहनेलाई खुला छ भन्ने विज्ञापन देखेँ। उक्त समूहमा कृष्ण मल्ल, अशोक शर्मा, लय संग्रौलालगायतले अभिनय सिकाउने गर्थे।
मलाई असाध्यै लाज लाग्ने हुनाले तालिम लिए लाज भाग्ला भनेर गएँ। लय संग्रौला दाइलाई ‘म एक्लो छैन’ भन्ने टेलिचलचित्रमा केटाको ग्याङ चाहिएको रहेछ।
टेलिचलचित्रमा मैले संवाद राम्रै बोले पनि अनुहार र शरीरमा हाउभाउ मिलाउन सकिनँ। ब्यारेकको सिन थियो, हामी हिरोको साथी बनेका थियौं । मेरो आमाको चिठी आएपछि एकदमै खुसी भएर चिठी पढ्नुपर्ने थियो।
चिठी त पढियो तर त्यो खुसी अनुहारमा पटक्कै झल्केन। क्यामरा नराख्दा गर्न सक्ने, राखेपछि फत्याकफुतुक्कै हुने। धेरै पटकको टेकमा बल्ल ओके भयो।
नयाँ मान्छे देख्दा भाग्थे
मेरो स्वभाव अनौठो खाले थियो। साथीभाइको अगाडि साह्रै बाठो हुन्थें। हाँस्ने, खेल्ने, दौडने गर्थें। साथीहरूलाई ठाडै हप्काउँथे।
तर नौलो मान्छे देखेपछि असाध्यै लाज लाग्ने र बोल्नै नसक्ने। गाउँमा नौलो मानिस कोही आएर कसैको घर सोधे भने दौडेर भाग्थेँ।
देवीले बनायो कमेडियन
टेलिचलचित्र ‘देवी’भन्दा अगाडि म सिरियस भुमिकामा अभिनय गर्थें। पाँच सेकेन्ड दियो भने आँखामा ग्लिसिरिन हाल्नु पर्दैनथ्यो, आँसु झरक्कै निकाल्न सक्थें। तर देवीमा मैले सिरियस मान्छेको भूमिकामा अभिनय गरे पनि अलि उत्फट्याङ काम गर्ने भएकाले बाटोमा हिँड्दा सबैले मेरो अभिनयको प्रशंसा गर्थे।अफिसका साथीले घरमा गएर यो हाम्रो अफिसमा काम गर्ने साथी हो भन्दा पनि टेलिचलचित्रमा मेरो लठेब्रो बोली र स्वभावका कारण पत्याउँदैन थिए रे।
बाटोमा हिँड्दा पनि नचिन्ने मानिसले पनि मैले देवीमा संवाद बोले जस्तै गरी मलाई प्रश्न सोध्थे । यो टेलिचलचित्रले मलाई कमेडियन बनायो।
भागी विवाह भयो
हामी एउटै घरमा बस्थ्यौं। कुपन्डोलको एउटा घरमा उनीहरू माथिल्लो फ्ल्याटमा म तल्लो फ्ल्याटको एउटा कोठामा। उनी महेन्द्र रत्न क्याम्पस ताहाचलमा पढ्ने म बैंकमा जागिरे।
दिनदिनै भेट्ने र गफ गर्ने भएपछि उमेरले गर्दा पनि कति बेला माया बस्यो पत्तै भएन। चिठी लेखेर फाल्ने गरिन्थ्यो। बुबा आमाबाट स्वीकृति भए पनि दाइ मेरै अफिसमा काम गर्ने भएकाले मान्नु भएन। उहाँले छुटाएर सर्लाही लानुभयो।
त्यहाँ पनि अफिसबाट कहिलेकाहीँ गाउँमा फोन भएको ठाउँमा बोलाउन पठाएर कुरा गर्थें। पछि दिदीहरू काठमाडौं आउने थाहा पाएपछि उहाँहरूसँगै आउनू भनेँ। उनी आइन्।
करिब एक सातापछि दक्षिणकाली गएर सिन्दूर हालिदिएँ। पोतेचाहिँ भोलिपल्ट मात्रै किनेर लगाइदिएँ। माग्या भए दिँदै दिन्नथिए, भागेरै विवाह गरियो।
साइकलमा पुर्याइदे भन्थे
कलाकारिता क्षेत्रमा नाम चल्दै गएपछि झ्याम्मिने र प्रस्ताव गर्नेहरू धेरै हुन्थे। नजिक हुन आउने र साइकलमा पुर्याइदे भन्ने पनि गर्थे। चिया र मिठाई खुवाउन लैजान्थे। तर म ‘मेरो मान्छे छ, मलाई ट्राई नगर अन्तै गर’ भनिदिन्थें।
चलचित्र हेर्दा निदाउँथेँ
चलचित्र हेर्न जान्थेँ। तर १५ मिनेट जति चाख दिएर हेरेपछि सुत्न थाल्थेँ। चञ्चल मन भएकाले स्थिर भएर लामो समय एकै ठाउँमा बस्नै सक्दिनथेँ।
कहिलेकाहीँ त सँगै गएको साथीले चलचित्र सकिएपछि उठाउनुपर्थ्यो। त्यसैले कसैले पनि मलाई चलचित्र हेर्न सँगै लैजान्थेनन्।
३३ देश घुमिसकेँ
विदेशमा शो गर्न पहिलोपटक कतार गएको थिएँ। विदेशमा कस्तो हुने होला भनेर स्टेजमा चढुन्जेल निकै डर लागेको थियो। तर पछि सबै नेपाली देखेपछि हिम्मत आयो।
त्यतिबेला खेम शर्मा र मेरो जोडी खुब जमेको थियो। पछि हङकङ हुँदै हालसम्म ३३ देशमा शो देखाइसकें। नेपालको भने ६२ जिल्ला घुमिसकेको छु।







