दयाहाङ र नम्रता उत्कृष्ट

Dayahang-and-Namrataकाठमाडौं- गत वर्षको चर्चित फिल्म ‘पशुपति प्रसाद’ ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको अवार्ड हात पारेको छ ।

चलचित्र विकास बोर्डले वर्षेनी प्रदान गर्दै आएको चलचित्र पुरस्कारमा ‘पशुपति प्रसाद’ ले फिल्मसहित निर्देशन र पटकथामा गरी तीन विधामा अवार्ड पाएको हो ।

निर्देशनमा दीपेन्द्र के खनाल र पटकथामा खगेन्द्र लामिछाने उत्कृष्ट घोषित भएका हुन् । महाभूकम्पमा परी निधन भएका आफ्ना बाबुआमालाई वैतरणी तार्न छोराले गर्ने संघर्षलाई ‘पशुपति प्रसाद’ ले देखाउन खोजेको छ ।

‘कबड्डी कबड्डी’ बाट पुरस्कृत हुँदै अभिनेता दयाहाङ राईले लगातार दुई वर्ष अवार्ड प्राप्त गरेका छन् । गतवर्ष पनि उनले ‘सम्बोधन’ बाट उत्कृष्ट अभिनेताको राष्ट्रिय पुरस्कार थापेका थिए । ‘दासढुंगा’ मा सहअभिनेतामा जितेको अवार्डसहित भने दयाहाङको यो हयाट्रिक हो ।

अभिनेत्रीतर्फको पुरस्कार भने ‘क्लासिक’ बाट नम्रता श्रेष्ठले जितिन् । उक्त फिल्ममा उनले दृष्टिविहीन युवतीको भूमिका निर्वाह गरेकी छन् ।

चलचित्र विकास बोर्डले दीर्घ साधना सम्मान अभिनेत्री वसुन्धरा भुसाललाई प्रदान गरेको छ । वसुन्धरालाई ३ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।
सम्मानित र पुरस्कृतलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमै आयोजित कार्यक्रममा अवार्ड तथा सम्मान प्रदान गरिन् ।