उप्रप्रधानमन्त्रीमा एमाओवादीका महासचिव कृष्णबहादुर महरा वा सचिव टोपबहादुर रायमाझी (गृह), राप्रपा नेपालका अध्यक्ष कमल थापा (परराष्ट्र) र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार (भौतिक पूर्वाधार तथा यातायात) ले शपथ लिने स्रोतले जानकारी दियो ।
एमाले उपाध्यक्ष भीमबहादुर रावल, उपमहासचिव विष्णु पौडेललगायत नौ मन्त्री एमालेबाट बन्ने भएका छन् । अाज बिहान एमाले स्थायी समितिले यसको निर्णय गर्दैछ ।
एमाओवादीले गृहसहित आठ मन्त्रालय पाउनेछ । एमाओवादीबाट अग्निप्रसाद सापकोटा, हरिबोल गजुरेललगायत आठजनाले मन्त्री पद पाउनेछन् ।
राप्रपा नेपालले परराष्ट्रसहित तीन, फोरम लोकतान्त्रिकले भौतिक पूर्वाधार र यातायातसहित दुई मन्त्रालय पाउनेछन् । राप्रपाले दुई र नेकपा मालेले एकसहित केही साना दलले समेत मन्त्रालय पाउने सहमति भएको छ ।
ओली स्रोतका अनुसार सोमबार सातदेखि नौ सदस्यीय मन्त्रिपरिषद् बन्नेछ । एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले सोमबार बिहान पार्टी पदाधिकारी बैठकले मन्त्रीहरू टुंग्याउने बताए ।







