काठमाडौं । दिल्लीबाट काठमाडौं आउन लागेका १९ जना यात्रु इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा उनीहरु चढ्नुपर्ने विमान उडिसकेको रहेछ । टिकटमा उल्लेख भएअनुसार ३ः१० मा उड्नुपर्ने नेपाल एयरलाइन्सको बोइङ ७५७ दुई घन्टा ३० मिनेट अघि नै उडिसकेको थियो । आर्थिक रुपमै लामो समयदेखि धराशायी रहँदै आएको नेपाल एयरलाइन्सको व्यवस्थापन कस्तो छ भन्ने बुझ्न आजको यो फ्लाइट काफी छ । एकातिर १९ यात्रु अलपत्र परे भने विमान खाली सिट नै दिल्लीबाट काठमाडौं फर्कियो । एउटा समयको टिकट बेचेर अर्को समयमा उडान गर्दा यात्रु त अलपत्र परे नै सँगै निगमको थेगिनसक्नु खर्चमा थप बोझ बढ्यो । टिकटमा गलत समय उल्लेख गरेका कारण यात्रुलाई पाल्नुपर्ने वाध्यता एकातिर रह्यो भने यात्रुले समयमै सेवा नपाउँदा गिरिरहेको एयरलाइन्सको शाख थप तलतिर धसियो ।
निगमको विमान आइतबार दिल्लीबाट १२ बजेर ४० मिनेट जाँदा काठमाडौंका लागि उड्यो । अनौठो के थियो भने केही यात्रुलाई दिउसो तीन बजेर १० मिनेट जाँदा उडान भर्ने समय सहितको टिकट बिक्री गरिएको रहेछ । परिणाम: यात्रुहरु काठमाडौंतर्फ उड्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नेपाल एयरलाइन्सको विमान भने नेपाल उत्रिसकेको थियो । कुनै पनि विमान कम्पनीहरुको उडान तालिका पहिले नै निश्चित गरिएको हुन्छ । उडान तालिका अनुसार नै एजेन्टहरुले टिकट बिक्री गर्छन् । टिकटको समय तालिका सिस्टमले नै देखाउँछ । तर निगमले आइतबार ३ः१० मिनेटको उडान तालिका सहितको टिकट यात्रुलाई दियो । निगमको बोइङ ७५७ बाट हुने उडान नम्बर आरए २०६ को टिकट ग्राहकलाई गलत समयमा उड्ने भन्दै दिइएको थियो ।
व्यवस्थापनकै त्रुटी हो, विमानको टिकट ३ः१० बजेका लागि दिइँदा निगमको बेव साइटमा भने दिल्लीबाट २ः१० मा उडान हुने लेखिएको थियो । अनि विमान उड्न चाहि १२ः४० मै उड्यो । टिकट बिक्री, बेवमा भएको जानकारी र विमान उडानमा कुनै सन्तुलन रहेन । निगमले हालसम्म साताको छ दिन काठमाडौं–दिल्ली–काठमाडौं उडान गर्दै आएको छ । आगामी बिहीबारदेखि लागू हुने तालिकाअनुसार भने निगमले यो रुटमा हरेक दिन उडान गर्नेछ । ‘नेपालतर्फ उड्न विमानस्थलको अध्यागमन पार गरेका थियौं,’ दिल्लीबाट नेपाल आउन लागेका यात्रु विनोद कार्कीले टेलिफोनमा भने, ‘विमान त नेपाल गइसकेको रहेछ । केही यात्रुलाई ३ः१० मिनेटकै टिकट दिइएको रहेछ । यो समय दिइएका सबै यात्रु दिल्लीमै छुटे ।’ निगमले १९ जना यात्रुलाई दिल्ली विमानस्थल नजिकै महिपालपुरको होटल सप्तगिरीमा राखेको छ । यो होटल विमानस्थलबाट करिब चार किलोटिरको दुरीमा छ । निगमका कर्मचारीले छुटेका यात्रुहरुलाई सोमबार बिहान नेपाल पठाउने जानकारी दिएका छन् । के कारणले उडान तालिका नै नभएको समयको टिकट बिक्री भयो भन्ने जानकारी निगमले दिएको छैन । निगमका दिल्ली स्थित कर्मचारीले यात्रुलाई प्राविधिक कमजोरीका कारण यो समस्या आएको बताएका छन् । दिल्लीमा रहेका यात्रुको बस्ने र खाने खर्च नेपाल एयरलाइन्सले नै व्यहोर्नुपर्छ । १९ जना यात्रुका लागि कोठा, बेलुकाको खाना र ब्रेकफाष्टको व्यवस्था निगमले गरेको जानकारी यात्रुले दिए ।






