काठमाडौँ, २२ चैत । राष्ट्रिय लिगअन्तर्गत आज भएको खेलमा गोलरहित बराबरी खेल्दै थ्रीस्टार क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक अङ्क बाँडेका छन् ।
दशरथ रङ्गशालामा दुवै पक्षका खेलाडीले गोलका प्रयास गरेका थिए । सुरुवातमै आक्रामक देखिएको थ्रीस्टारले १३आँै मिनेटमै राम्रो अवसर खेर फाल्यो । त्यसपछि आर्मीले थ्रीस्टारलाई आक्रमणको जवाफ दिने क्रममा २३ र ४२औँ मिनेटमा राम्रा अवसर सृजना गरेको थियो । आर्मीको दोस्रो आक्रमणलाई थ्रीस्टारका गोलकिपर एलान न्यौपानेले मुस्किलले बचाएका थिए ।
दोस्रो हाफमा गोल गर्न झन् आतुर देखिएको थ्रीस्टारका लागि सन्तोष साहुखलले ४९आँ मिनेटमा गरेको प्रहार थोरै मात्र बाहिरियो । गोलको खोजीमा रहेका सन्तोषले आर्मीका गोलकिपर विकेश कुथूलाई फल गरेपछि रातो कार्ड खाँदै बाहिरिए । दस खेलाडीमा सीमित भएको थ्रीस्टारलाई दबाबमा राख्दै आर्मीले ६२औँ मिनेटमा आक्रमण ग-यो । आर्मीका टङ्क बस्नेतले हानेको सशक्त प्रहार बारमा लागेर फर्कियो । एक खेलाडी कम हुँदा झन् सम्हालिएर खेलेको थ्रीस्टारले पनि अन्तिमसम्म गोलको प्रयास ग-यो, उसका विदेशी खेलाडी पिटरले ९०औँ मिनेटमा गरेको कडा प्रहार पोलमा लागेर फर्किपछि गोलरहित बराबरीमा खेल टुङ्गियो ।
थ्रीस्टार र आर्मीको गोलरहित बराबरी






