एन्फालाई साधारणसभा नगर्न आदेश

काठमाडौं,  १६ भदौ । पाटन पुनरावेदन अदालतले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को यही भदौ १६ गते बुधबारको लागि बोलाइएको साधारणसभा रोक्न आज अन्तरिम आदेश जारी गरेको छ । एन्फाका उपाध्यक्ष विजयनारायण मानन्धरलगायतले दायरा गरेको रिटमा यही भदौ १७ गते बिहीबारसम्म कुनै पनि काम कारबाही नगर्न पुनरावेदन अदालतका न्यायाधीश मोहनबहादुर कार्कीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।
मानन्धर र सदस्य सुमन केसी आफूहरुलाई कुनै पनि जानकारी नै नदिई साधारणसभा गर्न लागेको भन्दै अदालत पुग्नुभएको थियो । न्यायाधीश कार्कीको इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने या नदिने भन्ने विषयमा छलफलका लागि बिहीबार दुवै पक्षलाई बोलाएको छ ।