डा.रविनप्रताप सिंह
लन्डन ,ठूलै भुइँचालो गएको सुने। हतारिँदै टेलिभिजन र अनलाइन हेर्नतिर लागे। दुवै हेर्दा अनुहारमा गहिरो चोट लागेर रगताम्मे बनेका घाइते, भग्नावशेष बनेका भवन र रुवावासी देखेपछि बेलायतमा बस्दै आएका डा.रविनप्रताप सिंहले मन थाम्न सकेनन्।
त्यो दृश्यले एकाएक उनी मर्माहित भए। आफू जन्मेर र हुर्केको देशको बेहाल देखेर मर्माहत बनेका उनी चुपचाप बसिरहन सकेनन्। कति बेला त्यहाँ पुगेर बिरामी सेवामा तल्लिन हुन पाउँला भनेर उनी छटपट्टिए।
पेसाले ‘मेक्जिलो फेसियल सर्जन’ उनले भूकम्पमा परेर अनुहारभर चोटैचोट बोकेर छटपटाइरहेका घाइतेको उपचार गर्न स्वदेश फर्कने निर्णय गरे।
हृदयभर देशको माया बोकेर, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य सम्झेर नेपाल फर्किएका उनी दुई साता दिनरात बिरामीको घाउ निको पार्न उपचारमा खटिरहे।
बेलायतको लन्डनमा नाम चलेको गायज अस्पतालको व्यस्त जागिर थाँती राखेर दुई साताको छुट्टी लिएर स्वदेश आएका उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालको शय्यामा छटपटाइरहेका घाइतेको घाउमा मलहपट्टी लगाए।
अनुहारमा चोट लागेका थु्रपै घाइतेको उपचार गरेका उनले भूकम्पको चोटले रन्थनिएका नेपालीलाई आफ्नो ज्ञान र सीपको खाँचो देखेर स्वदेश आएको बताए।
‘भूकम्पले भत्किएका घरमा च्यापिएर अंगभंग भएकाहरूको चित्कार सुनेपछि मलाई देशको मायाले डोर्याएर यहाँसम्म ल्याइपुर्यायो’ उनले सुनाए ‘घाइतेको टुटे, फुटेको मुहारको मर्मत गरी सुन्दर बनाउने मेरो काम भएकोले त्यसैमा म दिनरात खटिरहे।’
अनुहारमा गम्भीर चोट लागेर उपचारको खोजीमा शिक्षण अस्पतालको शय्यामा छटपटाइरहेका बिरामीको नेपाली चिकित्सकसँग मिलेर उपचार गरेका थिए।
‘नेपाली डाक्टरको व्यवस्थापन निकै राम्रो रहेछ’, उनले भने ‘उहाँहरूको सेवाबाट म निकै प्रभावित बने। विपद्का बेलामा डाक्टरले गर्नुपर्ने व्यवस्थापनमा उहाँहरू पूर्णरूपमा दक्ष रहेको पाएँ।’
बागलुङ बुर्तिबाङ १ मा जन्मिएका सिंहले राजधानीको सिद्धार्थ वनस्थलीबाट एसएलसी परीक्षा उत्तीर्ण गरी अमृत साइन्स क्याम्पसबाट आईएस्सी पास गरेपछि डाक्टर बन्ने अभिलाषा बोकेर बिदेसिए।
पढाइमा तेज रहेका उनले अस्टे्रलियाबाट बीडीएस गरे। त्यसपछि बेलायततिर लागे। उनी बेलायत प्रवेश गरेको १५ वर्ष भइसकेको छ। त्यहीबाट उनले एमबीबीएस, एमएफडीएस, एफआरसीएस गरे। उनकी पत्नी पनि बेलायतमै कार्यरत छिन्। उनी बाल दन्तचिकित्सक हुन्। उनले नेपाली डाक्टर विवाह गरेका थिए।
मेक्जिलो फेसियल सर्जरीका विशेषज्ञ उनले बेलायतमा अनुहारमा चोट लगेर हाड फुटेका बिरामीको उपचार र अप्रेसन गरिसके। त्यसका अलावा मुख, घाँटीको क्यान्सर निकाल्ने काम पनि गर्दछन्।
क्यान्सर निकालिएको ठाउँलाई अप्रेसन गरेर सुन्दर बनाइदिन्छन्। बेलायतमै कार्यरत दुईजना हार्डजोर्नी विशेषज्ञ, एकजना जनरल सर्जन, एकजना एनेस्थेसिया विशेषज्ञसहित पाँचजना डाक्टरको टिम, औषधि लिएर स्वदेश आएको थिए। त्यो टिममा तीनजना बेलायती डाक्टर थिए।
उनका अनुसार अनुहारको हड्डी फुटेको बिरामीको राम्रोसँग उपचार नगरे पछिसम्म अनुहार दुख्ने, विस्तारै आँखाको दृष्टि हराउँदै जाने, चपाउन नमिल्ने, अनुहारको रूप बिग्रिने, बिरामीमा मानसिक समस्या उत्पन्न हुनेलगायतका समस्या देखा पर्नेछ।
‘विदेशमा सिकेको ज्ञान र सीपलाई आफ्नै जन्मभूमिमा प्रयोग गर्न पाउँदा निकै खुसी लाग्यो’ उनले भने ‘तर बिरामीको पीडा देख्दा दु:ख लाग्यो।’
विपद्का बेलामात्र नभई विदेशमा आर्जन गरेको सीप र ज्ञानलाई जुनसुकै बेला जन्मभूमिमा बिरामीको सेवामा खर्चिन उनी तयार छन्। उनले भविष्यमा नेपालमै आएर अनुहार, मुख, घाँटीको क्यान्सर निकाल्ने र अनुहारका बिरामीको उपचार गर्ने योजना बनाइसकेका छन्।
‘भविष्यमा नेपालमै फर्किएर विदेशको ज्ञान र सीपलाई यहाँका बिरामीको उपचारमा लगाउने योजना बनाएको छु’ उनले आफ्नो भावी योजना सुनाए,’त्यसको लागि नेपालमै कार्यरत नेपाली चिकित्सकसँग कुरा गरिरहेको छु।’
विपत्पछि नेपाल सरकारले घाइतेको नि:शुल्क उपचार गर्ने घोषणा ज्यादै राम्रो काम भएको उनले बताए।
‘सरकारले विपद्का बेलामा निकै राम्रो व्यवस्थापन गरेको रहेछ’, उनले भने, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि सरकारी संयन्त्रले पूर्ण सहयोग ग:यो। त्यसैले गर्दा सबैतिर काम सहज रूपमा पूरा गर्न सकेँ।’
भूकम्पमा परी अनुहारमा गम्भीर चोट लागेर उपचारको खोजीमा छटपटाइरहेका बिरामीले उपचारपछि मुस्कुराएको क्षण सम्झिँदै भविष्यमा नेपाल फर्किएर बिरामीको सेवामा तल्लिन हुने योजना बुन्दै उनी बिहीबार रात कर्मथलो बेलायत आइपुगे|







