बेलायतका गुल्मेलीले अपांगको सहयोगार्थ ४ डिसेम्बरमा भब्य च्यारिटी गर्दै, अरु के हुँदै ?

लन्डन। गुल्मी जिल्ला समाज यूकेले आफ्नो वार्षिक च्यारिटी कार्यक्रम यस वर्ष डिसेम्बर पहिलो साता गर्ने भएको छ।

समाजले विश्व अपांगता दिवसको अवसरमा वर्षेनी गर्दै आएको च्यारिटी कार्यक्रम आउँदो डिसेम्बर ४ तारिख आइतबार साउथ इष्ट लन्डनको वेलिङस्थित सेन्ट माइकल्स कम्युनिटी सेन्टरमा हुँदैछ ।

गुल्मी तम्घासस्थित आशा अपांग केन्द्र र रुरुस्थित गुल्मीकै पहिलो अटिजम स्कुलको सहयोगार्थ गर्न लागिएको च्यारिटी सफल बनाउन समाजका पदाधिकारी जुटेका छन् । 


आइतबार ग्रीनवीचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा समाजका कार्यसमिति र सल्लाहकारहरुको संयुक्त बैठकले कार्यक्रम तयारी सम्बन्धमा व्यापक छलफल गरेको छ ।

समाजका अध्यक्ष बीर बलालको अध्यक्षतामा भएको बैठकमा कार्यक्रम कसरी सफल बनाउने भन्नेबारे छलफल गरियो ।

बैठकमा कार्यक्रम संयोजक एवम् उपाध्यक्ष तारा भट्टराईले कार्यक्रमको हालसम्मको तयारीबारे जानकारी गराएकी थिइन्। 

बैठकमा नेपालबाट आएकी गुल्मेली लोकदोहोरी गायिका रुपा घर्ती मगरले सांगीतिक प्रस्तुति दिने बताइएको छ । साथमा, प्रथम गुल्मेली नौमती बाजा यूके र डिजे हेम विष्टको प्रस्तुतिका साथै स्थानीय कलाकारले पनि नृत्य देखाउनेछन्।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथिसहित बेलायतको नेपाली समुदाय तथा संघसंस्थाका प्रतिनिधिहरु च्यारिटीमा सहभागी हुने विश्वास गरिएको छ। 

साथमा, फरक क्षमता भएका अतिथिहरु शान्ति थापा कुँवर, हरि बुढा मगर, विनोद बुढाथोकी, अमृता र तीर्थ थापामगर लगायत अतिथि पनि कार्यक्रममा सहभागी हुने बैठकमा जानकारी दिइयो ।  

सो अवसरमा ‘दि एक्जुकेटिभ होम केयर लिडर अवार्ड’ प्राप्त गरेकोमा सल्लाहकार फत्त थापालाई समाजका तर्फबाट खादा ओढाएर सम्मान गरिएको थियो ।


बैठकले शान्ति नेपाली समाज बेलायतको नवनिर्वाचित कार्यसमितिमा निर्वाचित अध्यक्ष प्रबिण खराल, उपाध्यक्ष रामप्रसाद न्यौपाने र सहकोषाध्यक्ष चिन्तामणि खराललाई बधाई ज्ञापन गरेको छ ।

बैठकमा हालै निधन भएका समाजका सदस्यहरुको परिवारजनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एक मिनेट मौनधारण पनि गरिएको थियो।

महासचिव रुद्र थापाले सञ्चालन गरेको बैठकमा उपाध्यक्ष मञ्जु भण्डारीले स्वागत मन्तव्य दिएकी थिइन्।

बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षहरु राम गलामी र टोप पल्ली, सल्लाहकारहरु मोती भण्डारी, दुर्गा पाण्डे, फडिन्द्र भट्टराई, फत्त थापा, सुरेश गौतम, चक्रबहादुर राना, कृष्ण भण्डारी, ध्रुवराज अर्याल, प्रवक्ता राधा खरेल, सदस्यहरु डम्मर श्रीष, गुन थापालगायत सहभागी थिए।