साउनको दोस्रो सातासम्ममा संविधान : गच्छदार

विराटनगर, ३१ जेठ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले साउनको दोस्रो सातासम्म मुलुकले सङ्घीय लोकतान्त्रिक संविधान पाउने बताउनुभएको छ । विराटनगरमा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले चार राजनीतिक दलहरुबीच सम्पन्न सोह्रबुँदे सहमतिले सङ्घीयतासहितको संविधान सुनिश्चित गरेको स्पष्ट पार्नुभयो । आठ वर्षदेखिको राजनीतिक गतिरोध अन्त्य गर्न सो सहमति गरिएको उल्लेख गर्दै उहाँले यसको विरोध गर्नेहरु सङ्घीयताको विरोधी भएको आरोप लगाउनुभयो ।