यसरी तयारी हुँदैछ संविधान

काठमाडौं, ३१ जेष्ठ  । संविधान सभाले सहमति भएका बिषयका आधारमा र सहमति नभएका तर संविधानमा समेट्नुपर्ने बिषयलाई समेत सहमति गरि मस्यौदा लेख्न १५ दिनको समय दिएपछि संविधानसभा अन्तरगतको मस्यौदा समिति सक्रिय बनेको छ । झन्डै पाँच महिनको समयपछि बसेको बैठकले संविधानको मस्यौदा तयार पार्ने महत्वपुर्ण काम समेत गरेको छ । त्यसका लागि समितिले मौलिक अधिकार उपसमिति, न्याय उपसमिति, कार्यपालिका उपसमिति, व्यवस्थापिका उपसमिति, प्रस्तावना उपसमितिलाई आफ्ना क्षेत्रका बिषयहरु समेटेर मस्यौदा लेख्ने समेत जिम्मा दिएको छ ।
त्यसका लागि उपसमितिहरुले काम सुरु गरिसकेका छन । उपसमितिले दुई दिनभित्र मस्यौदा लेखिसक्नुपर्नेछ । राजनीतिक दलहरुका बिचमा भएको भएको १६ बुदे सहमतिका आधारमा उपसमितिहरुले काम गर्ने र त्यही अनुरुपको मस्यौदा तयार पार्ने कांग्रेस सभासद रमेश लेखकले जानकारी दिए । उपसमितिले असार २ गते बस्ने मस्यौदा समितिको बैठकमा मस्यौदा पेश गर्नेछन ।
यसरी हुँदैछ तयारी
प्रमुख दलहरुका बिचमा संविधान लेखनका महत्वपुर्ण बिषयमा सहमति भइसकेकोले अब संविधान लेखनमा खासै चुनौती रहेको छैन । केही असन्तुष्ट साना दलहरुलाई सहमतिका लागि प्रयास गर्नु बाहेका संविधान निर्माणका लागि धेरै ठुलो कसरतको पनि जरुरी छैन । पाँच वटा उपसमितिले मस्यौदा समितिमा मस्यौदा पेश गरिसकेपछि केहि बिषय मिलाउन बाकी रहेमा एकीकृत कार्यदललाई जिम्मा दिइनेछ । कार्यदलले अन्तिम रुप दिएपछि संविधानका प्रत्यक धारामा छलफल गरेर प्रारम्भिक मस्यौदा संविधानसभामा मस्यौदा समितिले पठाउछ ।
मस्यौदामा कुनै असहमति हुने दल र तिनका सभासदले फरक मत समेत राख्न सक्ने मस्यौदा समितिका सदस्य एवं एमाले सभासद कृष्णभक्त पोखरेलले बताए । पोखरेलका अनुसार संविधानसभामा प्रारम्भिक मस्यौदा समितिले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामाथीको सैद्धान्तिक छलफलपछि त्यसलाई जनतामा पठाइनेछ ।
जनतामा लैजानका लागि आबश्यक समय नभएको र परिस्थिति पनि जटिल रहेकाले सन्चार माध्यमा मार्फत सुझाव लिइने बताइएको छ । जनतको सुझाव सहितको प्रतिवेदन संविधानसभामा पेश भएपछि त्यो प्रतिवेदनलाई फेरी मस्यौदा समितिमा पठाइन्छ । मस्यौदा समितिले अन्तिम रुप दिएपछि संविधानको अन्तिम मस्यौदा फेरी संविधानसभामा पठाइने सभासद पोखरेलले जानकारी दिए ।
संविधानसभामा पेश भएको अन्तिम मस्यौदा माथि दफाबारे छलफल हुन्छ र त्यसलाई दुई तिहाइ बहुमतले पारित गरिन्छ । दुई तिहाइ बहुमतले पारित गरेको संविधानलाई संविधानसभाका अध्यक्ष सुबास नेम्वाङले प्रमाणीकरण गर्नेछन भने राष्ट्रपति रामवरण यादबले जारी गर्नेछन । यि सबै काम गर्नका लागि नयाँ तालिका बनिसकेको छैन भने पुरानो तालिका निष्क्रिय बनिसकेको छ । दलहरुका बिचमा छोटो बाटोबाट चाडो संविधान जारी गर्ने सहमति भइसकेकोले कम्तीमा दुई महिनासभित्र संविधान जारी हुन सम्भव देखिन्छ ।