वीरगन्ज- आन्दोलनरत मधेस केन्द्रित दलले आन्दोलनलाई केही खुकुलो पारेपछि मध्य तराईका जनजीवन अहिले सहज भएको छ ।
जनजीवन सहज हुन थालेपछि मध्य तराईका बारा, पर्सा र रौतहटका सर्वसाधारणलाई राहत भएको छ । विगत साढे पाँच महिनादेखिको निरन्तर बन्द, हडताल र नाकाजामका कारण यस क्षेत्रका जनजीवन त्रसित बनेको थियो ।
आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले जिल्लास्तरमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिएपछि स्थिति सहज भएको हो ।
बाराका सदरमुकाम कलैया, पर्साको वीरगन्ज र रौतहटको गौर बजारमा सर्वसाधारणको भीडभाड बढ्न थालेको छ । मुख्य बजारमा बिहानैदेखि पसल निर्बाध खुल्न थालेका छन् ।
सदरमुकाम कलैया, वीरगन्ज र गौरबाट अहिले लामो तथा छोटो दूरीका सवारीसाधन चल्न थालेका छन् । यसअघि काठमाडाँै, पोखरा, विराटनगरलगायतका सहरमा आउन जानका लागि बाराको सिमरा र रौतहट चन्द्रनिगाहपुर पुग्नुपर्ने बाध्यता थियो ।
मानवीय समवेदनालाई ध्यानमा राखी नाका अवरुद्ध गर्नेबाहेक उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात र बजार सञ्चालन गर्न दिने मौखिक सहमति दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक स्थानीय नेताले बताए ।






