काठमाडौं– माओवादी नेताहरुले भारत भ्रमणका क्रममा विवाद आउने कुनै पनि सन्धि सम्झौता नगर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएका छन् । आज बसेको पार्टी केन्द्रीय कार्यलयको वैठकमा नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
भोलिदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा देश र जनताको हित हुने गरी मात्रै भारतसँग सहमति कायम गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा पार्टी अध्यक्ष समेत रहेका दाहालले आफ्नो भारत भ्रमणको कार्यतालिका र कार्यसूचिका विषयमा जानकारी गराएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकमा पार्टीका नेताले प्रधानमन्त्रीलाई भारत भ्रमणको सफलताको लागि शुभकामना दिँदै दुई देशको सम्बन्ध सुदृढ गर्न र नेपालको राष्ट्रिय हित हुने गरी कार्यसूची तय गर्न सुझाव दिएको प्रवक्ता भुसालले बताइन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले यो भ्रमण मुख्य त सद्भाव भ्रमण भएको जानकारी दिँदै विगतमा नेपाल र भारतका बीचमा भएका सहमति, समझदारी कार्यान्वयन गर्नेमा आफू केन्द्रित हुने जानकारी गराउनुभयो ।
भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणका लागि भारतीय सहयोग, हुलाकी राजमार्ग निर्माण, विद्युत् व्यापार सम्झौताको कार्यान्वयनलगायत विषयलाई आफूले प्राथमिकतामा राखेको प्रधानमन्त्रीले बैठकमा जानकारी गराएको प्रवक्ता भुसालले बताइन् ।
‘नयाँ कुरा भन्दा पनि पुराना विषयमाथि नै छलफल गर्न सवैले सुझाव दिएका छन् ।’ नेता मणि थापाले भने । वैठकमा प्रचण्ड आफैले पनि भ्रमणमा पुराना विषय कार्यन्वयनका विषयमा कुराकानी हुने बताएका थिए ।






