निद्रा कम लाग्न थाल्याे ? साेसल मिडियाका कारण हाेला ।

social mediaलण्डन–शोधकर्ताहरुको समूहले गरेको एउटा अन्वेषणमा १२ देखि १५ वर्ष उमेर समूहका तीन जनामध्ये एक किशोरहरुको निद्रा लाग्ने क्रम घट्न थालेको बताइएको छ । फेसबुक, ट्वीटर तथा अन्य सोसल मिडियाका कारण निद्रा नलाग्ने अवस्था सिर्जना हुन थालेको बताइएको हो।
कार्डिफ विश्वविद्यालयको टोलीले हरेक पाँच किशोरहरुमध्ये एक जनाभन्दा बढीले राति उठेर सोसल मिडिया प्रयोग गर्ने गरेको र यही कारणले भोलीपल्ट स्कुलमा राम्रोसँग पढ्न नसकेको स्वीकारेका थिए। वेल्सका भिन्दाभिन्दै विद्यालयका आठ सय ४८ किशोरकिशोरीहरुमा गरिएको सर्भेमा हरेक तीन किशोरकिशोरीमध्ये एक जनाले आफूलाई निकै थाकेको महसुस गरेका थिए ।

यस्तै सोसल मिडिया प्रयोग नगर्ने किशोरकिशोरीहरु भने राति निद्रा नबिच्किने र बिहान सही समयमै निद्रा खुल्ने गरेको बताएका थिए । कार्डिफ विश्वविद्यालयका डा. किम्बर्ले हर्टनले अगुवाई गरेको यस शोधपछि उनले भने, ‘अभिभावकहरुले आफ्ना सन्तानले राति सोसल मिडिया चलाइरहेका छन् कि छैनन् भन्ने कुरा ध्यान दिनुपर्ने समय आएको छ ।’ शोधमा जो किशोरकिशोरी ठीक समयमा सुत्ने र उठ्ने गर्छन् तिनको तुलनामा राति अबेर या सुतिसकेपछि पुनः उठेर सोसल मिडिया चलाउने किशोरकिशोरीहरु सधैँ आफूलाई थाकेको महसुस गर्ने गर्दछन् ।