राष्ट्रसंघीय महासचिव बानसँग उपप्रधानमन्त्रीले असन्तुष्टि राखेपछि

काठमाडौं १६ असाेज ।  नेपाली प्रतिनिधिमण्डलले संयुक्त राष्ट्रसंघीय महासचिव बान की–मुनसँग संविधान जारी भए लगत्तै दिएको ‘चिसो’ प्रतिक्रियाप्रति असन्तुष्टी जनाएको छ। उपप्रधानमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा शुक्रबार राति साढे नौबजे राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा बानको कुराकानीका क्रममा संविधानलाई स्वागत नगरेप्रति नेपालले असन्तुष्टिसहितको जिज्ञासा राखेको हो।
‘विज्ञप्तिको आशय के हो भन्ने असन्तुष्टी नै देखायौं,’ प्रतिनिधिमण्डलका एक सदस्य प्रधानमन्त्री सुशील कोइरालाका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले बैठकपछि नागरिकसँग भने, ‘हामीले राष्ट्रसंघको आशयबारे सोध्यौं।’

राष्ट्रसंघको पहिलो विज्ञप्तिमा संविधान जारी भएकोमा ‘एक्नलेज’ (थाहा पाएको) भन्ने भाषा प्रयोग भएको थियो। भारतले पनि संविधान जारी भएकै दिन असोज ३ गते जारी गरेको विज्ञप्तिमा नेपालमा संविधान जारी भएको ‘वि नोट’ (थाहा पायौं) भन्ने भाषा प्रयोग गरेको थियो।

भारतले संविधानमाथि गरेको प्रतिक्रियाजस्तै राष्ट्रसंघको समेत भाषा प्रयोग भएकोमा नेपालले पहिल्यै असन्तुष्टी प्रकट गरेको थियो। त्यसै कारण बानले पछि जारी गरेको विज्ञप्तिमा संविधान जारी भएकोमा स्वागत गरिएको थियो।

बानसँगको भेटमा उपप्रधानमन्त्री सिंहले सार्वभौम संसदले प्रजातान्त्रिक विधिअनुरुप बनाएको संविधान समावेशी भएको बताएका थिए। ‘हाम्रो संविधान निर्माण प्रक्रिया सार्वभौम र ९० प्रतिशतभन्दा बढीको समर्थन रहेको छ,’ सिंहले बानसँग भनेका थिए, ‘हामीले सबैलाई मिलाएर लैजाने प्रयास गरेका छौं।’

महासचिव बानले सबैलाई मिलाएर लैजान आग्रह गर्दै कोही पनि हिंसामा नपरुन भन्ने आग्रह गरेका थिए। उनले पछिल्लो समयमा भएका हिंसाका घटना र सामान्य बालबालिकाको समेत मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका थिए।

बानले राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाल गरेको योगदानको प्रशंसा गरेका थिए। ‘संविधान जारी भएकोमा उहाँले प्रशंसा गर्नु भयो,’ भट्टराईले भने, ‘असहम पक्षलाई प्रक्रियामा ल्याउन प्रधानमन्त्री सुशील कोइरालाले गरेको प्रयासको समेत उहाँले प्रशंसा गर्नुभयो।’

बानसँगको भेटमा उपप्रधामन्त्री सिंहका साथै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, राजदूत डा. अर्जुन कार्की, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई र परराष्ट्र मन्त्रालयका युएन डिभिजन प्रमुख तारा पोखरेल सरिक थिए।