लेडी गागा भइन ‘वुमन अफ दी इयर’

http://assets-cdn.ekantipur.com/images/third-party/entertainment/01102015105018Lady_Gaga-600x0.jpgअमेरिकी गायिका लेडी गागालाई बिलबोर्डले यस वर्षको वुमन अफ दी इयरको अवार्ड दिएको छ । पप संगीतकी सुपरस्टार गागालाई बिलबोर्डले हालैको उनको पछिल्लो म्युजिकल टुरको सफलतादेखि विभिन्न च्यारिटी कार्यक्रममा दिएको परफर्मेन्सका आधारमा उक्त अवार्डको हकदार ठानेको जनाएको छ ।

‘बिलबोर्डको यस अवार्ड जहिल्यै संगीतमा सर्वाधिक उत्कृष्टले नै प्रतिनिधित्व गर्दै आएको छ,’ अवार्ड प्रमुख ज्यानिस मिनले थपे, ‘यसपटक पनि त्यस्तै उत्कृष्टहरू बीचबाट सर्वोत्कृष्ट छनोट गर्न निकै हम्मे हम्मे परेको थियो ।’ तर उनले लेडीको स्थानमा भने यस वर्ष अरू कुनै आउन नसकेको पनि जिकिर गरे । लेडी गागाले हालै ओस्कार अवार्डमा दर्शकलाई मन्त्रमुग्ध पार्ने प्रस्तुतिका कारण वाहवाही बटुलेकी त थिइन् नै, यस वर्ष विभिन्न सामाजिक कार्यमा पनि युवापुस्तालाई जागरुक बनाउन सक्रियता देखाइन् ।

‘बिलबोर्डले मेरो नाम ‘वुमन अफ दी इयर’ को लागि छनोट गरेकोमा विश्वास नै लागेको छैन,’ गागाले ट्वीटरमार्फत् खुसी व्यक्त गर्दै लेखेकी छन्, ‘धेरै धेरै धन्यवाद । म अवार्ड पाएर अति नै आभारी छु ।’ गतवर्ष बिलबोर्डले गायिका टेलर स्विफ्टलाई उक्त अवार्डसँगै उपाधि दिएको थियो । २९ वर्षीया गागा सर्वकालीन बेस्ट सेलिङ संगीतकारमा पर्छिन् । बिक्रीबाटै १३ वटा गिनिज रेकर्ड राखिसकेकी गागाले हालसम्म छ वटा ग्रामी अवार्ड जितिसकेकी छन् ।

सांगीतिक क्षेत्रबाहेक पनि गायिका गागा परोपकारी अभियान र सामाजिक अभियन्ताका रूपमा सक्रिय छिन् । खासगरी उनी समलिंगी अधिकार र एचआईभी एड्सविरुद्धका अभियानमा सक्रिय सहभागी रहँदै आएकी छन् । टाइम्स म्यागाजिनले उनलाई २०१३ मा दशककै सर्वाधिक प्रभावशाली व्यक्तिमा रूपमा सूचीकृत गरेको थियो ।