लन्डन । लर्डस क्रिकेट मैदानमा हुन गइरहेको खेल सफल बनाउन एनआरएनए यूकेले एक अन्तरक्रिया कार्यक्रम गरेको छ । अल्डरसटस्थित निरमाया रोधीघरमा शुक्रबार सांझ कार्यक्रम भएको हो । कार्यक्रमको संयोजन उपाध्यक्ष हिराधन राईले गरेका थिए । राई एनआरएनए यूकेको तर्फबाट क्रिकेट खेल आयोजक समितिको संयोजक हुन् ।
खेल प्रभावकारी रुपमा सम्पन्न गर्न के कस्ता कदम चाल्नुपर्छ भन्ने राय सुझाव लिन संघले विभिन्न संघसंस्था र मिडिया प्रतिनिधिहरुसंग अन्तरक्रिया राखेको थियो । अन्तरक्रियामा वक्ताहरुले बेलायतमा रहेका तीन सय नेपाली संस्थाले अब राष्ट्रका लागि केही योगदान गर्नुपर्ने बेला आएको बताए । सामाजिक अगुवाहरुले एमसीसी (मार्लेबोन क्रिकेट क्लव) र नेपाली क्रिकेट टिमबीचको मैत्रीपूर्ण खेललाई सांस्कृतिक पर्वकै रुपमा मनाउन सुझाएका छन् । आगामी जुलाई १९ मा नेपाली टिमले लर्डसमा खेल्न पाउने अवसर आफैंमा ऐतिहासिक भएको जनाउंदै अगुवाहरुले त्यस दिन झांकी, भेषभुषा वा नेपाली संस्कृतिमा प्रस्तुत हुन सुझाव दिए ।
कार्यक्रममा एनआरएनए यूके पूर्व अध्यक्ष सूर्य गुरुङले उक्त दिन खेलसंगै नेपाली कला संस्कृति देखाउने राम्रो अवसर भएको बताए भने संयोजक हिराधन राईले यो इभेन्ट कुनै जातजाती, वर्ग वा लिंगको नभइ समस्त नेपाली समुदायको र राष्ट्रका लागि भएकाले सबैले आफ्नो सम्झेर काम गर्न जरुरी रहेको उल्लेख गरे ।
कार्यक्रममा स्वयंसेवक परिचालन र टिकेटिङको संयोजन गरिरहेका कृष्ण शर्माले हालसम्म २८ सय टिकेट विक्री भइसकेको जानकारी दिंदै लर्डसले छिट्टै टिकेट विक्री बन्द गर्ने भएकाले किनिहाल्न आग्रह गरे । उनले नेपालबाट टिसर्ट समेत आएकाले त्यो किनेर सहयोग गर्न पनि अपिल गरेका थिए ।
ग्रेटर रसमोर नेपलिज कम्युनिटीकी महासचिव रन्जिता मल्लले खेल हेर्न जान आफ्नो संस्थाले दुईवटा बस रिजर्भ गरिसकेको जनाउंदै अरु संघसंस्थाबाट पनि सहकार्य भए कम्तीमा दश वटा बस रसमोर क्षेत्रबाट लान सकिने धारणा राखेकी थिइन् । किरात राइ यायोख्या यूके अध्यक्ष पदम राईले आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले कार्यक्रममा सहभागी सबै संघसंस्थाका प्रतिनिधिप्रति आभार व्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिन अपिल गरे ।
कार्यक्रममा डा. कपिल रिजाल, डा. राजेन्द्र थापा, शिवजी श्रेष्ठ, शान्ति थापा कुंवर, थर्क सेन, सुष्मा राई, कल्पना आङबुहाङ, सूर्य गुरुङ (पिपल मोर्गेज), पत्रकार शिव भण्डारी, नन्दकुमारी गुरुङ, यती महासचिव बाचस्पति रेग्मी, नेपालबाट आएका व्यवसायी सुनिल श्रेष्ठ लगायतले आ आफ्ना सुझाव दिएका थिए ।
यस खेल आयोजनामा एनआरएनए यूकेसहित नेपाली दूतावास र नेपाल पर्यटन बोर्ड यूकेको पनि प्रत्यक्ष संलग्नता र साथ छ । यी संस्थालाई कम्तीमा दश हजार दर्शक उतार्नुपर्ने चुनौती छ । प्रवेश शुल्क जम्मा दश पाउण्ड र शुल्कबाट संकलित रकमको पचास प्रतिशत नेपालको पुनर्निर्माण एवं पचास प्रतिशत नेपालको क्रिकेट विकासमा जाने भएकाले सबै बेलायतवासी नेपालीलाई सहभागी भइदिन आयोजकको आग्रह छ







