सिड्नी । अस्ट्रेलियामा रहेका गजल प्रेमी र सर्जकहरुले हरेक वर्ष आयोजना गर्दै आएको “गजल मुशायरा” कार्यक्रम यस वर्ष पनि भव्य रुपमा सम्पन्न भएको छ । गजल मुशायरा परिवारको आयोजनामा २३ सेप्टेम्बर सिड्नी स्थित सिभिक थियटरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न ठाउँबाट उपस्थित भएका गजलकारहरुले आफ्नो गजल वाचन गर्दै कार्यक्रम स्थललाई गजलमय बनाएका थिए ।
गजल वाचन, गायन र नृत्यको समिश्रण सहितको ‘गजल मुशायरा’मा अस्ट्रेलिया भरवाट उपस्थित भएका २९ जना नेपाली गजलकारले आफ्नो गजल वाचन गरेका थिए । कार्यक्रममा मेलवर्न, ब्रिसबन, तास्मानिया, क्यानवेरा, सिड्नी, न्यूक्यासल लगायतका ठाउँमा रहेका गजलकारहरुले आफ्नो गजल बाचन गर्नुका साथै बिपना पौडेल र जेनिशा गौतमले गजल नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा गायकद्वय सुवास लामिछाने र संजिव पराजुलीले सांगीतिक प्रस्तुती समेत दिएका थिए । नेपाली र अष्ट्रेलियाको राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा उपस्थित सर्जकहरुका सिर्जनाहरुमा उपस्थित साहित्यप्रेमीहरु मग्नमुग्ध भएका थिए । त्यस्तै कार्यक्रममा लोकेन्द्र बञ्जराद्धारा लिखित गजल संग्रह ‘पलक’ र गजलकार कमल संघर्षको गजल संग्रह ‘खुडी’ गरी २ वटा पुस्तकको लोकार्पण समेत गरिएको थियो ।
कार्यक्रममा संस्थापक सदस्य सुरेन्द्र दवाडीले संस्थाको स्थापना कालदेखि हालसम्मका गतिबिधि सहित नेपाली गजलको उत्थानमा गजल मुशायराले गरिरहेका कार्यहरुको बारेमा चर्चा गरेका थिए । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न विभिन्न क्षेत्र एवम् माध्यमबाट सहयोग गर्ने सहयोगीहरुलाई कार्यक्रम संयोजक जितेन्द्र मल्लले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेका थिए । दुई चरणमा सञ्चालन गरिएको कार्यक्रमको सञ्चालन छत्र बहादुर धामी र अनिशा खड्काले सञ्चालन गरेका थिए ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, निवर्तमान अध्यक्ष नन्द गुरुङ , पूर्व कोषाध्यक्ष डिला खरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि तथा साहित्यप्रेमी महानुभावहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने संघ संस्था एवम् व्यक्ति र उपस्थित गजलकारहरुलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमलाई ईनोभेटिभ एसोसियट्सले टाईटल स्पोन्सर गरेको थियो भने अस्ट्रेलिया स्थित दर्जनौँ सघंसंस्थाले प्रायोजन गरेका थिए ।
गजल मुशायरा परिवारले सन २०१४ देखी मोती जयन्तीको अवसर पारेर अस्ट्रेलियाको सिड्नीबाट शुरु गरेको यो कार्यक्रम हालसम्म अस्ट्रेलियाको विभिन्न शहर र अस्ट्रेलिया बाहिर मलेशिया र नेपालमा गरी बाह्र वटा सफल संस्करणहरु प्रस्तुत गरेको संस्थापक समेत रहेका मल्लले बताए ।
जेनिशा गौतम लगायतका कलाकारको गजलगीत नृत्यले कार्यक्रम लाई धेरै रमाइलो बनाएको थियो । गजल मुशायरा कार्यक्रमको अलवा संस्थाले अग्रज गजलकारहरुको सम्मान, नयाँ सर्जकहरुलाई गजल तथा कविता लेखन सम्वन्धी अन्र्तक्रिया कार्यक्रम, मासिक, त्रैमासिक रुपमा साहित्यिक जमघटहरु र अनौपचारीक सुन्ने सुनाउने कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ ।
सिड्नीबाट जितेन्द्र मल्ल, अशोक शर्मा, आदर्श खत्री, ओमराज अधिकारी, सन्जिव पाण्डे, निस्प्रभ सजि, बुद्धिसागर दवाडी, खगेन्द्र खत्री, राहुल अर्याल, निमेश भण्डारी, ममता तिवारी, सुस्मिता दाहाल, छत्र बहादुर धामी, उत्सव आरसी र शिबजी भण्डारी थिए भने न्यूकासलबाट इश्वर पौडेल, ब्रिसबेन बाट डा केशव शर्मा र कृष्ण समर्पणको तास्मानियाबाट सुमन पौडेल,भने क्यानबेराबाट बिनायक अधिकारी, नारायण बराल र तुल्सा पाण्डे मेलबर्नबाट लक्ष्मण सन्ज्याल, रमेश अधिकारी, कल्याण अधिकारी, प्रिसुइन्स रेग्मी र शुसील शर्मा सापकोटा लगाएतका गजलकारहरुले आ-आफ्नो बेजोड प्रस्तुती राखेर उपस्थित दर्शक लाई मन्दमुक्त परेका थिए ।
गजलमय बन्यो सिड्नी






