सिड्नी । नेपाली हिन्दु समाज अस्ट्रेलियाले हरितालिका तीजको अवसरमा आयोजना गरेको तीज विशेष भव्य रुपमा सम्पन्न भएको छ ।३० अगस्ट मंगलवार सिड्नीको ग्रानभील पार्कमा सम्पन्न कार्यक्रममा सिड्नीको विभिन्न क्षेत्रबाट नेपालीहरु सहभागी भएका थिए ।

बिहान ६ बजेबाट पुजाआजा सहित सुरु भएको कार्यक्रम मध्यान्ह हुँदै बेलुकी ५ बजेसम्म आरधाना गरिएको थियो । उक्त अवसरमा आराध्यदेव पशुपतिनाथ भगवानको मन्दिर स्थापना गराई विषेश रुद्राभिषेक, मध्यान्ह आरती, विल्वपत्र तथा दुधद्वारा शिवार्चन गरिएको थियो ।

काठमाण्डौको पशुपति क्षेत्रकै झल्को दिने गरी भक्तजनहरु बिहानै बाट ग्रानभील पार्कमा लामबद्ध भएर पुजा गरेको र पुजा सकिएपछि नाचगान गर्नेको घुँईचो देखिन्थ्यो । बिहानैबाट श्रद्धालु भक्तजनहरु आउने र जाने क्रम जारी रहेको थियो । भने झण्डै १० हजार श्रद्धालुहरुले दर्शन गरेको नेपाली हिन्दु समाज अस्ट्रेलियाकी पञ्चु शर्माले दाबी गरिन् ।यति ठुलो संख्यामा श्रद्धालु भक्तजनहरु उपस्थित भएर पुजाआजा तथा नाचगान गरेको यो पहिलो पल्ट भएको एक प्रत्यक्ष्यदर्सी भक्तजन ले बताए।

हिन्दु समाज अस्ट्रेलिया कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले नेपालीहरुको स्वामित्व भएको मन्दिर नहुँदा नेपालीहरुलाई पुजाआजा र नाचगान गर्न असहज भएको अवस्थालाई मध्येनजर गरेर कार्यक्रम गरिएको र कार्यक्रम निकै फलदायी बनेको प्रतिक्रिया दिए ।

बिहानबाट सुरु भएको कार्यक्रममा नेपालबाट आएकी कलाकार एलिना चौहानले दर्शकलाई निकै नचाएकी थिईन् भने अन्य स्थानीय कलाकारहरुले पनि मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा कमरल्याण्ड काउन्सिलका काउन्सिलर सुमन शाहले कमरल्याण्ड क्षेत्रमा अहिले नेपालीहरुको जनसंख्या बढ्दै गईरहेको बताए । उनले यो जनसंख्या चौँथो ठुलो जनसंख्या रहेको भन्दै आफुले यो कार्यक्रममा उपस्थित भएर सम्बोधन गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपालीहरुले आजको यो कार्यक्रममा निकै भव्य उपस्थिति सहित कलरफुल बनाएको भन्दै उनले नेपालीहरुको जनसंख्या बढेसगैं उनीहरुको योगदान पनि बढेको बताए ।

कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुले हिन्दु समाजले मन्दिर निर्माणकालागि आयोजना गरेको यो कार्यक्रम अत्यन्तै सह्रानीय रहेको बताए । उनले आफुले नेतृत्व गरेको एनआरएनएले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थागत र व्यक्तिगत रुपमा सहयोग गर्न तत्पर रहेको बताए । उनले नेपाली कला संस्कृति र रितिरिवाजलाई जोगाई राख्न समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको धारणा राखे ।

कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली सघं एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुले हरितालिका तीज मेलामा एनआरएनएले विगत देखि नै सहयोग गर्दै आईरहेको भन्दै आगामी दिनमा पनि सक्दो सहयोग र सहकार्य रहने बताए ।

साँझपखको कार्यक्रममा आफ्नो प्रवचन प्रस्तुत गर्दै वाचनशिरोमणी दिनबन्धु पोखरेलले हरितालिका तीजको धार्मिक महत्व, यसको अर्थ र विभिन्न देवी देवताका पालमा भएका विभिन्न कथाहरु प्रस्तुत गरेका थिए । उनको प्रवचन सगैं बेलुकीको आरती पश्चात कार्यक्रमको भव्य रुपमा समापन गरिएको थियो ।

कार्यक्रममा नेपालबाट आएकी अभिभावकले नेपाली मौलिक तीज गीत प्रस्तुत गरेकी थिईन् भने कार्यक्रममा उपस्थित मध्येकी एक भक्तजन शोभा अर्याल मादल बजाएर उपस्थित सबैलाई आकर्षित गरेकी थिईन् ।कार्यक्रममा नेपाल हिन्दु समाज अस्ट्रेलियाकी अध्यक्ष पञ्चु शर्माले अतिथिहरुलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।
उक्त अवसरमा बाल कलाकारहरु निती,सरह,प्रन्सी र अनुभाले आफ्नो नृत्य प्रस्तुत गरेका थिए भने स्थानीय कलाकारहरु श्रेया ज्ञवाली, अनुजा अधिकारी, जेनिशा गौतम र प्रिजु न्योपाने,म्याक्स बाबुले समेत आफ्नो कला प्रस्तुत गर्दै उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

नेपाली हिन्दु समाज अस्ट्रेलियाकी बहुसांस्कृतिक सयोंजक तथा हरितालिका तीज कार्यक्रम सयोंजक उषा किरण बारियाको आकर्षक प्रस्तुतीले कार्यक्रम तताएको थियो ।







