नेपाल र अष्ट्रेलियाले जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्ने

सिड्नी । नेपाल र अष्ट्रेलियाले जलस्रोत व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्ने भएका छन् ।

नेपालका परराष्ट्रसचिव भरतराज पौड्यालको नेतृत्वमा अष्ट्रेलियाको राजधानी क्यानबेरामा सोमबार सम्पन्न दुई देशका परराष्ट्रस्तरीय सचिवहरुको बैठकले जलस्रोत व्यवस्थापनमा सहकार्य गर्ने समझदारी गरेको हो ।

नेपालका जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरे र अष्ट्रेलियाका विदेश तथा व्यापार विभागका सचिव जान एडम्सले दुई देशको जलश्रोत व्यवस्थापन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । अष्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले आ-आफ्नो सरकारको तर्फबाट एमओयूमा हस्ताक्षर गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनुका साथै आपसी हीतका विभिन्न क्षेत्रमा सहयोग विस्तार र सुदृढ गर्ने सहमती समेत भएको क्यानबेरा स्थित नेपाली दुताबासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डल २८ अगष्टमा अष्ट्रेलियाको परराष्ट्र मामिला तथा व्यापार मन्त्रालयबीचको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकका लागि क्यानबेरा आइपुगेको थियो ।

नेपालको प्रतिनिधिमण्डलका अन्य सदस्यमा अष्ट्रेलियाकालागि नेपाली राजदूत कैलाशराज पोखरेल, सहसचिव लोकबहादुर थापा र परराष्ट्र मन्त्रालयका उपसचिव सीता बस्नेत सहभागी थिए ।