सिड्नी । प्रवासी नेपाली विद्यार्थी संगठन अस्ट्रेलियाले मुटसम्बन्धी समस्या भएकी एक महिलालाई आर्थिक सहयोग गरेको छ । रोल्पा माडी नगरपालिका वडा नम्बर २ बस्ने ३३ बर्षीय गौसरा घर्ती मगरलाई ५० हजार आर्थिक संकलन गरि हस्तान्तरण गरिएको संगठनका अध्यक्ष सम्राट वलीले बताए ।
केही महिनादेखि मुटुसम्बन्धी समस्या भएर अस्पतालमा छटपटाइरहेकी घर्तीलाई अपरेशन गर्नको निम्ती विद्यार्थीहरुबाट अस्ट्रेलियामा संकलित ५० हजार रुपैया सहयोग गरिएको उनले बताए । उनका अनुसार आर्थिक अभावले उपचारमा समस्या भएको भन्दै परिवारले गरेको याचनालाई मध्यनजर गर्दै अर्थ संकलन शुरू गरिएको थियो ।
उक्त सहयोगपछि घर्तीको अपरेशन सफल रुपमा भएको र उनी आराम गरिरहेको पारिवारिक स्रोतले जनाएको छ । संगठनले चालेको अभियानमा साथ दिने सबैलाई धन्यवाद दिदै अध्यक्ष वलीले आगामी दिनमा पनि यसप्रकारका परोपकारी काम गरिरहने बताए ।






