सिर्जनशिल आमा समूह यूकेले गर्‍यो पर्वतका मृगौला पीडित तालबीरलाई २ लाख आर्थिक सहयोग

लण्डन । बेलायतस्थित सिर्जनशिल नेपाली समाज यूकेले नेपालको पर्वतका दुवै मृगौला फेल भइ उपचाररत तालबीर विकलाई आर्थिक सहयोग गरेको छ ।

पर्वत जिल्ला महाशिला गाउँपालिका १ अर्गाउदी निवासी विकलाई समाजका सचिव मिलन सुनारले एक कार्यक्रमको आयोजना गरी दुई लाख नगद हस्तान्तरण गरेका हुन्।

विकको यतिबेला पोखरा स्थित चरक हस्पिटलमा उपचार भइरहेको छ । तर अर्थिक अभावको कारण उपचारमा समस्या भइरहेको कारण उनको जीवनरक्षाको निम्ती परिवारले अपिल गरेका थिए ।

त्यसैगरी उपचार गर्न आर्थिक अभावको कारण छट्पटिरहेका तालबीरको तस्बिर फेसबूक मार्फत सार्वजनिक भएको थियो । उक्त तस्वीर सार्वजनिक भएसँगै सिर्जनशिल आमा समूह यूकेकी अध्यक्ष जानकी सुनार र आमा समुहको टीमले आर्थिक सहयोगको पहल गरेको थियो ।

स्वदेश नेपाल मात्र नभएर बेलायतमा पनि विभिन्न सामाजिक काममा अग्रसर रहेको यस समाजले आगामी दिनमा पनि यसप्रकारका मानविय सहयोगहरु गरिरहने अध्यक्ष सुनारले बताइन् ।

सहयोग ग्रहण गर्दै मृगौला पीडित विकले आफ्नो उपचारको निम्ती आर्थिक सहयोग गर्ने दाताहरुप्रति आभार व्यक्त गरेका छन् । तालविरका आफन्त जीवन सुनारले हाल उनको हप्तामा दुईपटक डाइलासिस गर्नुपर्ने भएकोले जीवनरक्षाका लागि आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।