काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ ।
दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी साक्षी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जानकारी दिए ।
सुवेदीले अनुसन्धानमा शंका नगर्न समेत आग्रह गरे । ‘हामीले संकलन गरेका प्रमाणका आधारमा पक्राउ गरेका व्यक्ति नै संलग्न छन् भन्ने हाम्रो दावी हो’, डीआईजी सुवेदीले भने, ‘हामीले कहिँ कतै त्रुटी गरेका छैनौँ। प्रारम्भिक अनुसन्धानको नतिजाले पक्राउ परेका व्यक्ति संलग्न रहेको देखिन्छ।’
यसैवीच भागरथीका दाइ शंकर भट्टले छिमेकी १८ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएका छन् । गत माघ २१ गते बिहान ९ बजे घरबाट विद्यालय हिँडेकी भागरथी सम्पर्कबिहिन भएकी थिइन् ।
माघ २१ गते साँझसम्म पनि घर नफर्केपछि खोजी सुरु गरेका परिवारले माघ २२ गते साँझ ५ बजे मात्रै भागरथीको शव लवलेक जंगलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र फेला पारेका थिए ।






