बेलायत कांग्रेस नेताले भेटे देउवासहित शीर्ष नेता,गरे स्वदेश फर्केर पार्टी हाँक्न सक्ने संकेत

शिब भण्डारी

लण्डन ।नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति यूकेका नेताहरुले नेपाली काँग्रेसका केन्द्रीय नेताहरुलाई भेटेका छन् । केही समयको लागि नेपाल गएका जनसम्पर्क समिति बेलायत सभापति युवराज गुरुङ, उपसभापति महेश दाहाल, महामन्त्री प्रवेश केसी, महासमिति सदस्य विज्ञान प्रसाईँ, जनसम्पर्क समिति बेल्जियमका सहसंयोजक सुबास गुरुङले पार्टी सभापति शेर बहादुर देउवासहित शीर्ष नेताहरुसँग भेटघाट गरी समसामयिक विषयवस्तुमा छलफल गरेका हुन् ।

पार्टी सभापति शेर बहादुर देउवा, महामन्त्री पूर्ण ब खड्का, क्रियाशिल सदस्यता छानविन समिति संयोजक रमेश लेखक, पार्टी कार्यालय मुख्य सचिब कृष्ण पौडेल, जनसम्पर्क समिति विभागीय विभागी प्रमुख गोबिन्द भट्टराई, केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाललाई उनीहरुले भेट गरेका हुन् ।

‘देशको समसामयिक राजनैतिक अवस्था, पार्टीको आसन्न महाधिवेशन लगायतका विविध विषयमा नेताहरुसँग छलफल गर्याै र हाम्रा सुझावहरु दियौँ,’ जनसम्पर्क समिति वेलायतका सभापति गुरुङले लण्डन नेपाल न्यूजसँग भने, ‘हामीले दिएका सुझावहरुलाई उहाँहरुले सकारात्मक रुपमा ग्रहण गर्नुभयो ।’

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई फागुन ११ गते सर्वाेच्चले बदर गरिदिएको सो निर्णयलाई स्वागतयोग्य निर्णय भएको भन्दै उनले अदालतले लोकतन्त्र र संविधानको रक्षाको गरेको निष्कर्षमा आफुहरुकोे छलफल पुगेको समेत बताए । ‘हाम्रो पार्टी विधि र कानूनको शासन मान्ने पार्टी हो,’ उनले भने, ‘हामी सधै स्वतन्त्र न्यायपालिकामा विश्वास गर्छाैँ, अहिले अदालतले गरेको फैसलाले हामी सबै जनतालाई न्याय दिएको छ ।

‘ आफुहरुको छलफलको क्रममा पार्टी सभापति देउवा लगायतसँग नेकपा विभाजन आधिकारिक रुपमा नभएको कारणले सरकारमा जाने नजाने विषयमा सोच्नुपर्र्ने अवस्था समेत नरहेको निष्कर्ष निकालिएको उनको भनाई छ । ‘नेकपा औपचारिक रुपमा फुटेको छैन । निर्वाचन आयोगले पनि निर्णय दिएको छैन,’ यो अवस्थामा बजारीय हल्लामा मात्र लागेर पार्टी सरकारमा जाने भन्ने कुरा हुँदैन,’ उनले भने, ‘देशलाई परेको खण्डमा काँग्रेस ढाल बनेर उभिन्छ, जनताको भरोसा टुट्ट दिदैनौँ भनेर नेताहरुले भन्नुभो ।’

इतिहासको कालखण्डमा हरेक महत्वपूर्ण भुमिका निर्वाह गर्दै परिवर्तनकारी आन्दोलनको नेतृत्व गरेको काँग्रेसले सोही पथलाई अघि बढाउनेमा केन्द्रीय नेतृत्व दृढ रहेको बताएको उनको भनाई छ ।जवाफमा पार्टी सभापति शेर बहादुर देउवाले ढिलो चाँडो काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका थिए । ‘देश बनाउने चलाउने काँग्रेसले नै हो भन्ने कुरा पुष्टि भइसकेको छ,’ सभापति देउवालाई उध्दृत गर्दै गुरुङले भने, ‘कम्युनिष्टहरु अधिनायकबादी हुन्, ‘जनता यिनीहरुबाट आजित भइसके।’

‘यसपटकको छलफल भेटघाट र बसाई अत्यन्तै फाइदाजनक रह्यो,’ उनले भने, ‘सरकारले गरेको असंवैैधानिक कदमको विरुद्धमा विभिन्न जिल्लामा पुगी विरोध कार्यक्रमहरु गर्याैँ र पार्टीलाई एकढिक्का बनाएर लैजाने विषयमा पनि सहमति भयो ।’

महाधिवेशनको तयारी शुरू

सभापति गुरुङले पार्टी नेतृत्व महाधिवेशनमा केन्द्रीत हुने बेला आएको पनि बताए । ‘म पनि अब करिब दुई हप्तापछि लण्डन फर्किन्छु, अधिवेशनका धेरै कामहरु बाँकी छन्,’ उनले भने, ‘केन्द्रले निर्देशन गरेअनुसार नै नयाँ क्रियाशिल सदस्यता वितरणको काम पनि शुरू गर्नुछ।’ उनले ३६ वटा देशमा नेपाली काँग्रेसको जनसम्पर्क समिति रहेको उल्लेख गर्दै बेलायतमा अर्काे पटक पनि नेतृत्व गर्न तयार रहेको बताए ।

यसैगरी समितिका उपाध्यक्ष महेश दाहालले काँग्रेसको भावी नेतृत्वको लागि प्रवासबाट पनि बुलन्द आवाज उठाइरहने भन्दै आगामी नेतृत्वले पार्टीलाई एक ढिक्का बनाएर लैजाने विश्वास व्यक्त गरे । महासमिति सदस्य विज्ञान प्रसाईँले नोपली काँगेस पार्टीमा युवाहरुलाई विशेष स्थान दिन जरुरी रहेको युवाहरुले देशलाई अझै सही दिशामा लैजान सक्ने बताए ।

त्यसैगरी काउन्सिलर समेत रहेका महामन्त्री प्रवेश केसीले काँग्रेसले नेतृत्व नगरे देश अपूरो अधुरो रहने भन्दै कम्युनिष्टले सही दिशामा देशलाई लैजान नसकेको कुरा तीन बर्षमै पुष्टि भएको दावी गरे । यसैगरी जनसम्पर्क समिति बेल्जियमका सहसंयोजक स्ुवास गुरुङले पनि नेतृत्व तहमा देखिएको गुटबन्दीको प्रथा हटनुपर्नेमा जोड दिए । सबै नेताहरुले देशलाई आवश्यक परेको खण्डमा बेलायतबाट फर्किएर नेतृत्व हाँक्न तयार रहेको समेत सन्देश दिएका छन् ।