रियल मड्रिडलाई ३४ औ पटक ला लिगाको उपाधि ।

एजेन्सी,

रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । बिहीबार राति भएको ३७औं खेल खेलमा भिल्लारियलमाथि २–१ गोलको जित निकाल्दै रियलले ३४औं ला लिगाको उपाधि जितेको हो ।

आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले दुवै गोल गरे । यता, पाहुना टाेलीका भिसेन्टे बाेर्राले एक गाेल फर्काए ।

खेलको २९औं मिनेटमा लुका मोड्रिकको पासमा गोल गर्दै बेन्जेमाले रियललाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए ।

यसैगरी खेलकाे ७७ औं मिनेटमा रियलले पेनाल्टीकाे माैका पायाे । कप्तान सर्जियो रामाेसमाथि डी एरियामा फल भएपछि रियलले पेनाल्टीकाे माैका पाएकाे थियो । पेनाल्टीकै क्रममा रामाेसले बेन्जेमालाई पास दिएका थिए । तर, रेफ्रीले उनकाे पेनाल्टीलाई मान्यता दिएन ।

उनकाे पेनाल्टीलाई मान्यता नदिएपछि बेन्जेमाले पुन: पेनाल्टी प्रहार गरे । जसमा बेन्जेमाले सहजै गाेल गर्दै रियलकाे अग्रता दाेब्बर बनाए । बेन्जेमाले जारी सिजन २१औं गाेल गरे ।

खेलकाे ८३औं मिनेटमा बाेर्राले गाेल गर्दै पाहुना टाेलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, बाँकी समय गाेल हुन नसक्दा रियलले उपाधि जित्याे ।

जितसँगै रियलले डिफेन्डिङ च्याम्पियन क्लब बार्सिलोनालाई उछिन्दै उपाधि जितेको हो । शीर्ष स्थानको रियलले ८६ अंक बनाउँदै उपाधि पक्का गरेको हो ।

बार्सिलोनासँग भने ७९ अंक छ । आजै भएको अर्को खेलमा बार्सिलोना ओसासुनासँग २–१ गोलले पराजित हुन पुग्यो ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला दस खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने दसमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

रियलले सन् २०१६–१७ को सिजनपछि पहिलोपटक उपाधि जितेको छ ।