संयोजकबाट हटेपछि किन दिल्ली जाँदैछन् महन्थ ठाकुर ?

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा विवाद चुलिएको बेला सो पार्टीका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर दिल्ली जान लागेका छन् ।

बुहमतको निर्णयको आधारमा राजेन्द्र महतो राजपा अध्यक्ष मण्डलको संयोजक बनेसँगै सो पार्टीमा विवाद चुलिएको छ। विवाद उग्र हुँदै पार्टीको बैठक समेत बस्न नसकेको बेला ठाकुरको दिल्ली यात्रालाई चासोका साथ हेरिएको छ ।

ठाकुर उपचारका लागि भारत जान लागेको बताइएपनि सो क्रममा राजनीतिक भेटवार्ता समेत हुने उनी निकट स्रोतले जनाएको छ ।

पार्टी निकट स्रोतका अनुसार दिल्लीको चाहना ठाकुर नै राजपा नेपालको नेतृत्वमा रहून भन्ने थियो । तर दिल्लीको चाहनाविपरित महतो संयोजक बनेको चर्चा सो पार्टीभित्र छ ।

यस विषयमा ठाकुर दिल्लीमा भएको बेला भारतीय नेताहरुसँग छलफल हुने बुझिएको छ । टिकटको टुंगो लाग्न बाँकी रहेको र टिकट फिक्स भएमा उनी आजै दिल्ली प्रस्थान गर्ने पारिवारिक स्रोतले जनाएको छ ।

केहि वर्ष पहिले मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखेका ठाकुर यसअघि गत साउन १३ गते फलोअपमा गएका थिए ।

छोरी र ज्वाँईलाई साथमा लिएर दिल्ली पुगेका उनले त्यतिबेला गृहमन्त्री राजनाथ सिंहदेखि सुरक्षा सल्लाहकार अजित डोभलसम्मलाई भेटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *