बेलायतमा एमाले नेता केशवलाल श्रेष्ठसँग अन्तर्क्रिया

कुमार केसी
रेडिङ (यूके)– एमाले निकट प्रवासी नेपाली मञ्च बेलायतको रेडिङ इलाका कमिटीले एमाले नेता तथा अखिल नेपाल किसान महासंघका सहअध्यक्ष केशवलाल श्रेष्ठसँग अन्तर्क्रिया आयोजना गरेको छ ।

रेडिङमा भएको अन्तर्क्रियामा नेता श्रेष्ठले नेपालको समयसामयिक राजनीति, परराष्ट्र नीति, आर्थिक तथा विकास योजनाबारे धारणा राखेका थिए । उनले नेपालको आर्थिक अवस्था संकटतिर धकेलिएको भन्दै मुलुक परनिर्भरताको अवस्थामा पुगेको बताए ।

नेपालका राजनीतिक दलहरुबीच आपसी एकता कमजोर भएको उल्लेख गर्दै नेता श्रेष्ठले ‘छिमेकी रिझाउने’ प्रवृत्ति हावी भएको बताए । भूमाफिया र कृषि क्षेत्रमा भएको दलालीले वास्तविक किसानहरु झन् पीडित हुँदै गएको उनले बताए ।

श्रेष्ठले एमालेभित्रको विवाद चर्चामा आएजस्तो नभएको दाबी गरे ।

कार्यक्रममा प्रवासी नेपाली मञ्चका अध्यक्ष रामशरण सिम्खडाले पार्टीको प्रवासी संगठनका विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा मञ्चका प्रचार विभाग प्रमुख कुमार केसी, इन्द्र क्षेत्री, अर्जुन बस्नेत, कृष्ण रेग्मी, सुवास दाहाल, भीमसेन खड्कालगायतले पनि विविध पक्षमा आफ्नो भनाइ राखे ।

रेडिङ इलाका कमिटी अध्यक्ष सुवास दाहालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भीमसेन खड्काले उदघोषण गरेका थिए ।