त्रिशूलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेको खोजी जारी

चितवन– आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर आइतबारदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उन तीन दाजुभाइको खोजी कार्य पुन: सोमबार बिहानबाट सुरु भएको छ ।

घटनास्थलमा रहनुभएका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १ : ३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५ : ३० बजेबाट पुन खोजी कार्य थालिएको छ ।

राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो । जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो । गोताखोर समेत खोजी कार्यमा जुटेका छन् ।

बिहानबाट भने जिल्लाको रसौलीमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली पनि परिचालन गरिएको उनले बताए । गाडी खसेको ठाउँमा एउटा डुङ्गामा चढेर खोजी कार्य जारी छ भने अर्को डुङ्गामार्फत नदीको बहावसँगै खोजी कार्य थालिएको छ । नदीका अन्य ठाउँमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको सिंहले बताए ।

दुर्घटनाभएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली अनवरत रुपमा जुटिरहेको छ । सोही ठाउँबाट केही दिन अघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ । पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।

दुर्घटनामा परी घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता भएका छन् । उनका भाइ प्रकाश र मोहन घिमिरे बेपत्ता भएको छ । गाडी पनि नदीमा बेपत्ता भएको छ ।

दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको हो । काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ ।

मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा९च १५३१ नम्बरको स्करपियो गाडी त्रिशूलीमा खसेको हो । चालक प्रहरीका हवल्दार विष्णु राई घाइते भएका छन् । उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।