काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ता भएको छ ।
काठमाडौं । पछिल्लो समय सरकारले विप्लपलाई लगाएको प्रतिबन्ध फुकूवा गर्ने हल्ला चलिरहेको अवस्थामा खानेपानीमन्त्री मणी थापा र नख्खु जेलमा रहेका विप्लवका मुख्य नेता हेमन्तप्रकाश ओलीसंग भेट गरेका हुन् ।
आज विहान नख्खु कारागारमा गएर मन्त्री थापाले विप्लब समूहका नेता ओलीलाई भेट गरेको बताइएको छ ।
मन्त्री थापा कारागारको खानेपानी सम्बन्धी अनुगमनका लागि भन्दै त्यहाँ पुगेका थिए । कारागारको निरीक्षण गरेका थापाले विप्लव नेता ओलीसँग संवाद गरेको जनाइएको छ ।
तत्कालीन माओवादी जनयुद्धकालदेखिकै साथी रहेका मणी थापा र हेमन्तप्रकाश ओलीबीच हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्णरूपमा आउने हो भने सरकारले सहजीकरण गर्नेबारे कुरा भएको बताइएको छ ।
जिल्ला अदालत, ललितपुरले ओलीलाई १० वैशाखमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र विभाजनका गतिविधि अघि बढ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिको मूल धारमा ल्याउन भन्दै वार्ताको प्रक्रिया अघि बढाउन सकारात्मक बनेका हुन् ।
प्रधानमन्त्री ओली सकारात्मक भएपछि सरकारी पक्षले विप्लव पक्षसमक्ष वार्ताको प्रयासबारे सूचना पुर्याइसकेको छ ।
त्यसका लागि सरकारले आफू निकट विभिन्न समूहलाई परिचालनसमेत गरेको बुझिएको छ । सरकारले छिट्टै वार्ता समिति बनाउने तयारी गरेको छ ।
नेकपाभित्र विभाजनको प्रक्रिया अघि बढ्दै गर्दा प्रधानमन्त्री ओलीले पूर्वजनमुक्ति सेनालाई समेत विश्वासमा लिन प्रयत्न गर्दै आइरहेका छन् ।
उनले केही दिनअघि पूर्वजनमुक्ति सेनालाई बालुवाटारमा नै बोलाएर उनीहरुका गुनासा सुनेका थिए ।
स्रोतका अनुसार सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्धसमेत फुकुवाको तयारी गरिररहेको छ ।
सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सो समूहमाथि २८ फागनु २०७५ मा प्रतिबन्ध लगाएको थियो ।
सरकारले विप्लवसमक्ष सरकारी पक्षको धारणा पुर्याए पनि सो समूहले भने सरकारलाई औपचारिकरुपमा नै पहल गर्न आग्रह गरेको बताइन्छ ।






