अस्ट्रेलिया । पश्चिम अस्ट्रेलियामा प्रहरीले एकै स्थानमा ७ जनाको शव फेला पारेको छ । प्रहरीका अनुसार मृत्यु भएकामा ४ बालबालिका र ३ वयस्क छन्।
शुक्रबार बिहान प्रहरीले पश्चिम अस्ट्रेलियाको पर्थबाट केही घण्टाको दूरीमा रहेको दुर्गम स्थान बोसमिग्टनमा उनीहरुको शव फेला पारेको हो। पत्रकार सम्मेलन गरेर घटनाको जानकारी दिँदै राज्यका प्रहरी प्रमुख क्रिस डोवसनले २ वयस्क व्यक्तिको शव घरबाहिर र अन्य ५ जनाको घरभित्र भेटिएको जानकारी दिए। यस घटनालाई २० वर्षपछिको सबभन्दा ठूलो हत्याको घटना भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। २२ वर्ष पहिले तास्मानियाको पोर्ट आर्थरमा एक व्यक्तिले ३५ जनाको हत्या गरेका थिए।
प्रहरी प्रमुख डोवसनले अनुसन्धान अघि बढाइएको जानकारी दिँदै अहिल्यै कुनै पनि संदिग्ध व्यक्तिको खोजी नगरिएको बताएका छन्। घटनास्थलमा दुइटा बन्दुक भेटिएको र मृतकहरुमा बन्दुकको गोलीको निसान पाइएको उनले बताए।
प्रहरी प्रमुखले घटनाको छानबिनका लागि केही दिन समय लाग्न सक्ने बताउँदै घटनाको सत्यतथ्य चाँडै बाहिर ल्याइने प्रतिबद्धता जनाएका छन्। राज्यका प्रिमियर मार्क म्यागवानले घटना दुस्खद भएको बताउँदै समवेदना प्रकट गरेका छन्। (कान्तिपुर दैनिक)






