
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आहृवान गरेको वार्ता पनि विषय प्रवेश नगरी सकिएको छ ।
तर, नेताहरुले सरकारले तराईमा जारी आन्दोलनमा संयमता अपनाउने सहमति जनाएपछि प्रमुख तीन दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको बैठक सकारात्मक बनेको दाबी गरेका छन् ।
वालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको प्रमुख तीन दल र मधेसी मोर्चाबीचको बैठकमा प्रधानमन्त्री ओलीले जारी आन्दोलनमा सरकार संयमता पूर्वक प्रस्तुत हुने प्रतिबद्धता ब्यक्त गरेका थिए । प्रदर्शनका क्रममा बिभिन्न स्थानमा प्रहरीको गोली लागि आन्दोलनकारीको मृत्यु भएको तथा गम्भीर घाइते भएको, कर्फ्यु तथा निशेधाज्ञाको क्रम नरोकिएको भन्दै मोर्चा नेताले आपत्ति जनाएपछि सरकारले सो प्रतिबद्धता जनाएको हो ।
सरकारले यसअघि नै गम्भीर प्रकृतिबाहेक पक्राउ परेका सम्पूर्ण आन्दोलनकारीको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो ।
बैठकपछि एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिगतमा भन्दा आजबाट बैठक सकारात्मक रुपमा अघि बढेको जानकारी दिदै मोर्चा नेताहरुसँग निरन्तर छलफल गर्ने सहमति भएको बताए ।
बैठकमा मोर्चाको प्रमुख मध्येको एक सिमाकंनबारे भने कुनै छलफल हुन सकेन । उपाध्यक्ष श्रेष्ठले दलहरुबीच आन्तरिक छलफल गरी सिमांकन सहित आगामी बुधवार पुन बैठक बस्ने जानकारी दिनुभयो ।






