विमानस्थललाई नाफा कमाउने थलोका रुपमा नहेरौं : मन्त्री पोखरेल

Ananda-Pokharelकाठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थललाई नाफा कमाउने थलोका रुपमा हेर्न नहुने बताउनुएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमन तथा निरीक्षण गर्न पुग्नुभएका मन्त्री पोखरेलले विमानस्थललाई नाफा कमाउने थलो नभई सेवालाई प्रभावकारी बनाउनेमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “सबै सरोकारवाला विमानस्थल नेपालको गौरव, प्रतिष्ठा र समृद्धको आधार भन्ने कुरालाई आत्मसात् गर्दै उच्च र सम्मानित बनाउने प्रतिबद्धता जनाउनुपर्छ ।”

मन्त्री पोखरेलले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने अन्तर्राष्ट्रिय विमानस्थल नै भएकाले त्यसको सरसफाइ र सुरक्षाको राम्रो व्यवस्था गरेमा नेपालको सकारात्मक सन्देश जाने बताउनुभयो ।

विमानस्थलबाट सञ्चालन हुने ट्याक्सीमा नेपालको प्राकृतिक सुन्दरता तथा धार्मिकस्थलका बारेमा विदेशी पाहुनालाई सुनाउन सकिने वा ड्राइभर आफैँले नेपालका बारेमा विदेशीलाई जानकारी दिने व्यवस्था भए प्रभावकारी हुने उहाँको धारणा थियो ।