राजपा नेपालका नेताहरु भारतीय दूतावासमा

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्यहरु भारतीय दूतावास गएका छन् । उनीहरु भारतीय राजदूत मन्जिम्भ सिंह पुरीको निम्तामा छलफलको लागि त्यहाँ पुगेका हुन् ।

असोज २ गते हुन गइरहेको तेसो चरणको स्थानीय चुनाव तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको लगायतको विषयमा छलफल हुने बताइएको छ ।

छलफलमा महन्थ ठाकुर, महेन्द्रराय यादव, शरतसिह भण्डारी, अनिल झा र राजेन्द्र महतो रहेका छन् । राजकिशोर यादव जिल्लामा रहेको कारण उनी सहभागि छैनन् ।

राजपा नेपाल संविधान संशोधन लगायतका माग पूरा नभएसम्म चुनावमा नजाने अडान लिएर बसेको छ । तर, पछिल्लो समय संविधान संशोधन बाहेकका मागहरु पूरा भए चुनावमा जाने मनस्थिति राजपा नेपालले बनाएको छ ।
त्यसैले सरकारले पनि भित्रभित्रै सहिदको घोषणादेखि लिएर मुद्दा फिर्ता, बन्दी रिहाईलगायतको कार्य गरिरहेको छ ।
संशोधन विधेयक निर्णायार्थ संसदमा पेस गरे त्यसबाट आउने परिणामलाई स्वीकार गर्ने राजपा नेपालका नेताहरुले पनि भनिरहेका छन् । प्रधानमन्त्री देउवाले पनि भोटिगंका लागि विधेयकलाई संसदमा पेश गर्ने बताउँदै आएका छन् ।