लण्डन । नेपलिज युथ एशोसिएसन यूकेको आयोजनामा यहि अगस्ट ६ तारिख आइतबार बिहान साढे १० देखि १ बजेसम्म साउथ ईस्टको प्लमस्टिडस्थित डांफे रेष्टुरेन्टमा एनआरएन यूकेका उम्मेदवारहरुसंग युवाहरुले सामुहिक रुपमा ‘युथ टक शो’ आयोजना गर्ने भएका छन् ।
नेपलिज युथ एशोसिएसनले युवाहरुसंग सरोकार राख्ने विभिन्न विषयमा सरोकारवालाहरु बोलाएर अन्तरक्रिया गर्ने क्रमको यो तेश्रो श्रृंखला हो । एनआरएन यूकेका विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका सबैलाई बोलाएर अन्तरक्रिया गर्न लागिएको कार्यक्रमका संयोजक तथा एशोसिएसनका उपसभापति लक्ष्मण गुरुंगले बताए ।
कार्यक्रममा एनआरएन यूकेका अध्यक्षमा उम्मेदवारी दिएका तीनै जना उम्मेदवार उपस्थित हुने उनले जानकारी दिए ।उपाध्यक्ष, महासचिव लगायतका पदका उम्मेदवारहरु पनि कार्यक्रममा सहभागी हुनेछन् ।
युवाहरुलाई लक्षित गरेर कार्यक्रम गर्न लागिएकाले अन्तरक्रिया युवामै केन्द्रित रहने आयोजकले बताएको छ ।
अन्तरक्रियामा उम्मेदवारहरुका प्रतिबद्धता र भिजनबारे बोल्न लगाइनेछ । सहभागीले राखेका जिज्ञासामा पनि उनीहरुले जवाफ दिनेछन् ।






