काठमाडौँ, २१ मङ्सिर । मेलम्ची खानपानीको मुहानस्थित हेलम्बु–७ मा भेटिएको सुनजस्तो पहेंलो धातु सुन नभएको खानी तथा भूगर्व विभागले जनाएको छ ।
उपत्यकामा पानी ल्याउनका लागि इन्टेक निर्माण गर्ने क्रममा गत शुक्रबार पाँच मिटर लम्बाइ र चार मिटर चौडाइको ढुङ्गामा सुनजस्तो पहेँलो धातु भेटिएको थियो ।
मेलम्चीको मुहानस्थलमा भेटिएको सो धातु आइतबार मेलम्ची खानेपानी विकास समिति र स्थानीयवासीले परीक्षणका लागि विभागमा बुझाएका थिए । विभागको प्रयोगशालामा परीक्षण गर्दा त्यसमा सुनको मात्रा नभेटिएको विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।






