राजपाले चाहेमात्रै संशोधन विधेयक निर्णयार्थ पेश हुन्छः प्रचण्ड

काठमाडौं– सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न सबै तहको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष दाहालले राष्ट्रिय जनता पार्टी, नेपालले चाहे मात्रै संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश हुने पनि स्पष्ट पारे ।
मंगलबार जनकपुरमा स्थानीय संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रिय जनता पार्टीका कारण निर्वाचन रोक्नुपर्ने कुनै कारण नरहेको पनि उल्लेख गरे । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री हुँदा पनि संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्न प्रयास गरिएको तर पारित हुने अवस्था नभएपछि प्रक्रियामा नलगिएको पनि स्मरण गराए ।

अध्यक्ष दाहालले मधेशमा छुट्टै देश हुनुपर्छ भन्ने र पहाडे राष्ट्रवाद दुवै अतिवादी सोच भएको उल्लेख गर्दै आफ्नो पार्टी त्यस विरुद्ध रहेको पनि बताए । उनले जनकपुरलाई महानगर बनाउने आश्वासन पनि दिए ।
अध्यक्ष दाहालले जनकपुरलाई स्याटलाईट पर्यटकीय सहरको रुपमा विकास गर्ने दावी पनि गरे । उनले जनकपुर विमानस्थललाई स्तरोन्नति गरेर अन्तराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।