काठमाडौँ– भारतले बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपालले आफ्नो सैनिक किन नपठाएको विषयमा चासो व्यक्त गरेको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतमा भएको सो संयुक्त सैन्य अभ्यासमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग चासो व्यक्त गरेकी हुन् ।
आज न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग भएको भेटवार्तामा ज्ञवालीले सो चासो व्यक्त गरेको भारतीय दूतावासका एक अधिकारीले जानकारी दिए । उनका अनुसार प्रतिवद्धता जनाए अनुसार नेपालले आफ्नो सेना नपठाएर भारतलाई निकै चित्त दुखाएको भन्दै स्वराजले त्यसप्रति गुनासो समेत पोखेकी थिइन् ।
गत भदौ १४ र १५ गते नेपालमा सम्पन्न विमस्टेक सम्मेलनले सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यास गर्ने सम्झदारी गरेको थियो । सो सम्झदारी अनुसार भारतको पुनेमा संयुक्त सैन्य अभ्यास गरिएपनि नेपालले सहभागिता जनाएको थिएन ।
स्रोतका अनुसार मन्त्री स्वराजले चासो राखेपछि मन्त्री ज्ञवालीले त्यो विषयलाई लिएर पार्टीभित्रै विवाद भएको प्रतिकृया दिएका थिए । सरकारको निर्देशन अनुसार नेपाली सेनाले तयारी समेत गरिसकेको भएपनि पार्टीभित्र र बाहिरबाट विरोध भएपछि निर्णयबाट पछि हटिएको उनको जवाफ थियो ।
साथै छलफलमा यसअघि दुई देशको उच्चस्तरीय भ्रमणमा भएको सम्झौतालाई कार्यान्वयन गर्नेबारेमा पनि छलफल भएको थियो । भेटघाटमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी तथा अन्य अधिकारीका साथै भारतीय अधिकारीहरुको पनि उपस्थिति थियो ।






