नेताले ढाँटेपछि विद्यार्थीले एसएलसी दिन पाएनन्

धादिङ : पहिलो संविधानसभाको चुनावमा भोट माग्दै पुगेका नेताले त्यतिबेलै माध्यमिक तह चलाउन सहयोग गर्ने बचन ८ वर्ष बितिसक्दा पनि पूरा नगर्दा विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।
गाउँकै विद्यालमा तत्कालै माध्यमिक तह सञ्चालन गरी त्यहीँबाट एसएलसी दिलाउने ब्यवस्था गर्ने बाचा गरेर सहर पसेका नेताले आफ्ना बाचा भुलेपछि धादिङको एउटा विद्यालयका १८ विद्यार्थीले यो वर्ष एसएलसी दिन नपाउने भएका हुन् ।

पहिलो संविधानसभामा गरेको बाचा पूरा नगरेका माओवादी सभासद्जस्तै दोस्रो संविधानसभाको चुनाव जितेका एमाले सभासद्ले पनि आफ्नो बाचा पूरा गर्नबाट चुके । दोस्रो संविधानसभाको चुनावमा चुनाव जितेका एमाले सभासद् राजेन्द्र पाण्डेले पनि आश्वासन दिएर बचन पुरा नगर्दा विद्यार्थीको भविष्य अफ्ठेरोमा परेको हो ।

एसएलसी आउन डेढ महिनामात्र बाँकी रहँदा धादिङको बेनिघाट गाविस–३ स्थित हर्कपुर माद्यमिक विद्यालयको १० कक्षाका सबै यो वर्षको एसएलसी दिनबाट बञ्चित हुने भएका हुन् ।
विद्यालयका प्रधानाध्यापक पहलमान श्रेष्ठले राजनैतिक खिचातानीका कारण विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएको बताए । ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेतालाई भनेर विद्यालयको स्वीकृति ल्याउने आश्वासन दिए’, उनले भने, ‘उनीहरुको आश्वासन पूरा हुने आशमा विद्यार्थी पढाउन थाल्यौं । अन्त्यमा मावि चलाउने अनुमति नआउँदा विद्यर्थाीको भविष्य वर्वाद हुने अवस्था भयो ।’
नेताहरुले आश्वासन दिएर पहल नगरिदिँदा विद्यालयले मावि सञ्चालन गर्न नसकेको शिक्षकहरुले बताए । विद्यालय स्रोत व्यक्ति वसन्तराज सिलवालले सम्पूर्ण जिम्मा प्रधानाध्यापकले लिनुपर्ने बताए ।
विद्यार्थीको दोष हेडमास्टरमाथि 
एसएलसीका लागि शैक्षिक सत्रको पहिलो त्रैमासिकभित्र भरिसक्नुपर्ने रजिष्ट्रेशन फर्म नभरेकाले आफुहरुले एसएलसी दिन नपाउने भएको विद्यार्थी गोकुल सुनारले बताए ।
‘गत वर्षबाट यहाँ १० कक्षा सुरु भएको हो । यही विद्यालयका विद्यार्थीलाई गत साल पनि अर्कै विद्यालयबाट एसएलसी. दिन लगाएका थिए’, उनले भने, ‘यो साल पनि अरुको विद्यालयबाट फाराम भर्न खोज्दा शिक्षकहरुले नदिएकाले परीक्षा दिन नपाउने भयाैं ।’
ढिलो गरी भराएको फर्म दराजमै राखेर नबुझाएपछि विद्यार्थी अलपत्र परेका हुन् । आगामी शैक्षिक सत्रबाट मात्र मावि चलाउने अनुमति पाएको विद्यालयले गत वर्ष पनि कक्षा १० का ३० जना विद्यार्थीेहरुलाई चन्द्रोदय उमावि विशालटारबाट एसएलसी दिन लगाएको थियो ।
‘वर्ष दिनसम्म मेहनेत गरेर पढियो अहिले परीक्षा नै दिन पाइँदैन भन्दैछन, दिनरात गरेको मेहनेत खेर जाने भयो’, अर्का विद्यार्थी नरबहादुर मगरले भने, ‘यो सबै काम हेडसर कारण विग्रेको हो । हेडसरले हाम्रो भविष्यमाथि खेलबाड गरे ।’
आठकक्षा पास गरेपछि अन्य स्कुलमा जान लाग्दा यही विद्यालयबाट एसएलसी दिन पाइने भन्दै प्रधानाध्यापकले रोकेको मगरले बताए । छोराछोरीले परीक्षा दिन नपाउने भएपछि अभिभावकहरु पनि आक्रोशित छन् ।
आफ्नो घरबाट एसएलसी दिन लागेका तीनजना नानीहरु शिक्षकहरुकै लापरबाहीले परीक्षा दिन नपाएको बताउँदै अभिभावक रुपशिखा मगरले त्यसको जिम्मा प्रधानाध्यापकले लिनुपर्ने बताइन् ।
आफूले प्रअलाई पहिलेदेखि समस्या आउनसक्ने जानकारी दिए पनि गम्भीर रुपमा नलिँदा अहिले अफ्ठेरो आइलागेको उनले बताए । दलित र जनजातिको बाहुल्यता रहेको यस क्षेत्रको हर्कपूर मावि २०३२ सालमा स्थापना भएको थियो ।