चितवन : चितवनको जुटपानीकी एक महिलाले आफ्नै आमाविरुद्ध उजुरी दिएकी छिन् । तल्लो जातसँग बिहे गरेको भन्दै आमाले यातना दिएपछि ती महिलाले आफ्नै आमाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा बुधबार उजुरी दिएकी छिन् । उजुरीका आधारमा प्रहरीले आज युवतीकी आमासहित तीनजनालाई पक्राउ गरेको छ ।
तल्लो जातको केटासँग गएको भन्दै विगत तीन वर्षदेखि यातना खप्दै आएकी जुटपानी–७ सूर्यपुरकी २१ वर्षीया सङ्गीता लामालाई आमाले कुटपिट गरी घाइते बनाएपछि उनले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।
सङ्गीतालाई आमा धनमाया तामाङ, दिदी शर्मिला र गाउँकी अर्की एक महिलाले सोमबार साँझ कुटपिट गरेको पीडित युवती सङ्गीताले दुखेसो गरिन् । त्यसपछि मङ्गलबार उनलाई उपचारका लागि भरतपुर मेडिकल कलेज ल्याइएको थियो ।
चिकित्सकले उनको खुट्टाको गोलीगाँठामा हड्डी फुटेको भन्दै एक महिना आराम गर्नुपर्ने बताएका छन् । उनको टाउकोमा समेत चोट लागेको छ । आफूलाई चिर्पटले हानेको पीडित युवतीले बताइन् । न्यायका लागि भरतपुर आइपुगेकी सङ्गीताले बुधबार प्रहरीमा उजुरी दिएकी छिन् ।
चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले उजुरी दर्ता भएको र घटनामा संलग्न भनिएका तीनजनालाई पक्राउ गरिएको जानकारी दिए । उनले कानुनअनुसार कारबाही हुने बताए । पक्राउ पर्नेमा आमा धनमायाँ लोप्चनसहित आइतीमायाँ तामाङ र अर्का एकजना छन् ।
तल्लो जातसँग बिहे गरेको भन्दै यसअघि पटकपटक दुर्व्यबहार गर्ने गरेकामा सोमबार साँझ भने इनारमा एक्लै भएको मौका पारेर कुटपिट गरेको पीडित सङ्गीताले बताइन् । चार वर्षअघि पदमपुर–४ की सङ्गीताले जुटपानी–७ का मनोज परियारसँग प्रेमविवाह गरेकी थिइन् । त्यसपछि माइतीपक्षले पटकपटक मानसिक दुर्व्यबहार गर्दै आएका थिए । रासस






