गगनशिला खड्का
गुल्मी १४ माघ । धेरै नेपालीको उत्कृष्ट रोजगारीको गन्तव्य राष्ट्रका रुपमा परिचित बेलायतमा बस्ने गैर आवासिय नेपालीहरुको सँख्या अत्याधिक छ । यिनै गैर आवासीय नेपालीहरु मध्येका एक हुन गुल्मीको धुर्कोट बस्तु वार्ड नं ६ निवासी केशव भण्डारी ।
भण्डारी अध्यनको शिलशिलामा बेलायत छिरेको डेढ दशक वित्यो । त्यहाँ रहेर उनी आफ्नो लागि मात्रै काम गर्दैनन् । आफ्नो जन्मभुमी गुल्मी जिल्ला र देशको सेवामा पनि समर्पित छन् । भण्डारी गुल्मी जिल्लामा जन्मेर बेलायतमा बसोवास गर्ने गुल्मेलीहरु मिलेर २०६३ सालमा स्थापना गरेको गुल्मी जिल्ला समाज युके मार्फत गुल्मीको समाजसेवामा सक्रिय छन् । उनले विदेशमा भएपनि आफ्नो गाउँ,जिल्ला र देशका लागि केही गर्नुपर्दछ भन्ने सोचाइका कारण समाजसेवामा लागेको बताए । ‘ आफ्नो लागि त जो कसैले पनि गरिरहेकै हुन्छ नि तर अरुको लागि गर्न सक्नु नै आत्मसन्तुष्टिको आधार हो मेरा लागि ’ उनले भने । गुल्मी जिल्ला समाज युकेका उपाध्यक्ष समेत रहेका भण्डारी यसरी बेलायतमा बसेर पनि स्देशको समाज सेवामा निरन्तर खट्ने एक्ला होइनन् । गुल्मी जिल्लाको विकास र सेवाका लागि रुपाकोट निवासी मोतिराज भण्डारीको योगदान पनि कम छैन । दुई दशक भन्दा बढी समय बेलायतमा विताईसकेका भण्डारीले जिल्लाको समग्र हितका लागि गुल्मी जिल्ला समाज युकेको सल्लाहाकारका रुपमा रहेर सामाजिक काममा लागेका हुन् । मजुवा स्वास्थ्य चौकीमा इन्चार्जका रुपमा कार्यरत भण्डारी २०४३ सालमा स्वास्थ्य सम्वन्धी उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेका हुन् । नेपालीहरुको बाक्लो उपस्थिति रहेको चाल्टनका नेपालीहरुका माझ समाजसेवीका रुपमा परिचित भण्डारीले गुल्मी जिल्ला समाज युके बेलायतका गुल्मेलीहरुको साझा चौतारीका रुपमा रहेको बताए । उनले समाजमा रहेर जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याएका छन् । जैशिथोक गाविस वार्ड नं ७ निवासी शिव भण्डारी पनि पढाईको शिलशिलामा बेलायत गएको चौध बर्ष भयो ।
सानो उमेर देखी नै गुल्मीमा विद्यालय, टोल, गाउँ र छरछिमेकमा सामाजिक काम गर्ने बानी परेका भण्डारी बेलायत पुगेर पनि २०६३ सालमै गुल्मी जिल्ला समाज युकेको सदस्यता लिई परोपकारी कामको थालनी गरे । बेलायत पुगेपछि भण्डारीले गाउँको विधालय जैशिथोकका लागि गुल्मी जिल्ला समाज यु के मार्फत १ लाख ७० हजार नगद स्कुल मर्मत को लागि समेत सहयोग रकम उपलब्ध गरायका थिय भने ब्यक्तिगत तर्फ एक लाख १० हजार जैशिथोकका लागि ,परमानन्द बहुमुखी क्याम्पस धुर्कोटबस्तुलाई ५० हजार रकम आर्थिक रुपमा सहयोग गरिसकेका छन् ।
गुल्मी जिल्ला समाज युकेका सचिब भण्डारीले यदी कुनै व्यक्तीमा सामाजिक काम गर्ने दृढ इच्छाशक्ती भए त्यसलाई कुनै कुराले नरोक्ने बताए । उनले भने “म गाउँमै हुदाँ यस्ता सामाजिक काम प्रति रुचि राख्थे,काम गर्न पाउँदा हौसिन्थे,त्यस कारण यहाँ बेलायतमा पनि त्यसलाई केहीले रोकेन ।” बसाई,अध्ययन र रोजगारीको शिलशिलामा जहाँ—जहाँ पुगेपनि आफ्नो जन्मभुमी प्रतिको स्नेहमा कुनै कमी नआउने बताए ।
गुल्मी जिल्ला समाज युके मार्फत गुल्मीमा शिक्षा,स्वास्थ्य,अपाङ्गगता भएका व्यक्तीहरुका लागि आर्थिक सहयोग संकलन अभियानमा रहेका भण्डारीले जन्मभुमीलाई कसैले विर्सन नहुने बताए । उनले गुल्मीमा समाजसेवा राजनिति गर्नु र नाम कमाउन नभई मानविय सेवा नै धर्म भएकाले समर्पित रहेको बताए ।
यस्तै गुल्मीको सामाजिक क्षेत्रमा क्रियाशिल अर्का समाजसेवी हुन् फणिन्द्र भट्टराई । गुल्मीको आपचौर गाविसको तल्लाफाटमा जन्मेका भट्टराई विगत १६ बर्षदेखी बेलायतमा बस्छन् । गुल्मी जिल्ला समाज युकेका मिडिया संयोजक रहेका भट्टराई बेलायतमा व्यवसायी पनि हुन् । आफ्नो व्यवसायवाट बचत भएको केही रकमलाई उनले गुल्मी जिल्लाको परोपकारी कामका लागि छट्याउँछन् ।
बेलायतमा बसेपछि तनमन सबै जन्मभुमीमै हुने भएका कारण अलिकति रकम जिल्ला र जिल्लावासीको सहयोगार्थ खर्चिएको भट्टराईले बताए । ओम प्रसाद थापाको अगुवाईमा २०६३ सालमा स्थापना भएको गुल्मी जिल्ला समाज युकेले अहिले सम्म गुल्मी जिल्लामा एक करोड भन्दा बढी रकम सहयोग गरेको छ । गुल्मीमा जन्मेर बेलायतमा बसोवास गर्ने २ सय १० घरपरिवार आवद्ध संस्थाले गुल्मीको विभिन्न परोपकारी काममा सहयोग गर्दै आएको छ । जसमा शिक्षामा ४६ लाख,स्वास्थ्यमा ३५ लाख,अपाङ्गको क्षेत्रमा २० लाख र अन्य मानविय सहयोगमा २० लाख गरी एक करोड २० लाख रकम सहयोग गरिसकेको छ । समाजले बर्षको एक पटक आशा अपाङ्ग केन्द्र गुल्मीको लागि लण्डनमा च्यारीटी कार्यक्रम गर्दै आएको छ । अहिले अर्जुन गौतम अध्यक्ष रहेको समाजले जिल्लामा अझै सहयोगका क्षेत्रहरु बृद्धी गर्दै लैजाने बताए ।







