शिब भण्डारी
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले आयोजना गर्ने काउन्सिल बैठकको तयारी पूरा भएको जनाएको छ । काउन्सिल बैठक यसपटक यहि २९ सेप्टेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा हुंदैछ ।
एनआरएन यूकेमा २ वर्षे कार्यकालसहित आउने हरेक कार्यसमितिले आफ्नो कार्यकालभित्र एक पटक गर्ने काउन्सिल बैठकलाई एक अवसरका रुपमा लिने गरिएको छ । एनआरएनले बेलायतस्थित सम्पुर्ण नेपाली संघसंस्थाको बीचमा सम्बन्ध सुदृढ बनाउने एउटा अवसरका रुपमा बैठकलाई हेरिन्छ ।
काउन्सिल बैठकका लागि बेलायतमा रहेका २ सय बढि नेपाली संघसंस्थालाई आफ्ना प्रतिनिधी पठाउन अनुरोध गर्दै पत्राचार गरिएको छ । काउन्सिल बैठक संयोजक तथा एनआरएन यूके उपाध्यक्ष पुनम गुरुंगका अनुसार बैठकमा बेलायतमा बसोबासरत नेपाली र एनआरएनसंग सम्बन्धित विभिन्न विषयहरुमा समुहगत छलफल गराएर निश्कर्ष तयार पारिनेछ ।
बैठकको तयारी एवम संयोजनका लागि बैठक संयोजक तथा एनआरएन यूके उपाध्यक्ष पुनम गुरुंगले केहि सल्लाहकार, सदस्य सचिव र सदस्यहरु रहने गरि उपसमिति गठन गरेकी छन् । उक्त उपसमितिको विशेष सक्रियतामा कार्यसमिति समेतको सहयोगमा काउन्सिल बैठकको तयारी तीब्र पारिएको सो उपसमितिका सल्लाहकार जिव बेल्वासेले बताए ।
यसैबीच एनआरएनए यूकेले विभिन्न गतिबिधिहरु जनस्तरमा सबैतिर लैजाने र सस्थाको कार्य प्रभावकारी रुपले अघि बढाउन प्रयास गरिएको भन्दै अध्यक्ष योगकुमार फगामी एबं संयोजक पुनम गुरुंग तथा महासचिव राज कुमार त्रिपाठीले शनिबार आयोजना हुने कार्यक्रममा वेलायतस्थित नेपाली समूदाय तथा संघसँस्थालाई निमन्त्रण पठाएको जानकारी दिदैं कार्यक्रममा उपस्थित भैदिन आग्रह गरेका छन्।






