‘परिवन्द’ मा परेर प्रधानमन्त्रीमा उम्मेदवारी दिए – कोइराला

काठमाण्डौ २० कार्तिक ।  कांग्रेस सभापति सुशील कोइरालाले ‘परिवन्द’ मा परेर आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको बताएका छन् । कस्तो परिवन्द भन्नेबारे उनले खुलाएनन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्नको जबाफ दिदै विहिबार कोइरालाले भने,’उम्मेदवारी दिने अघिल्लो दिनसम्म म राष्ट्रपति पनि हुन्न,  प्रधानमन्त्री पनि हुन्न भनेकै थिएँ । तर उठियो, उठाईयो, परिवन्दमा परियो ।’
केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने नब्बे प्रतिशत बढीले कोइरालाको उम्मेदवारीलाई गल्ती भन्दै भारतीय दबावमा उम्मेदवारी दिएको धारणा राखेका थिए । तर, कोइरालाले परिबन्दमा परेको बताउदै विदेशीको दबाव भने नरहेको बताए । त्यसअघि महामन्त्री कृष्णप्रसाद सिटौलाले अघिल्लो दिनको राती ९ बजेसम्म उम्मेदवारी दिन्न भन्ने कोइरालाले भोलीपल्ट उम्मेदवारी दिने निर्णयबाट आफू आश्चर्य चकित भएको धारणा बैठकमा राखेका थिए ।