लन्डन । बेलायतको मिडल्याण्डस्थित बर्मिङहममा मे महिनाको अन्तिम साता तीन दिने श्रीमद्भागवद् कथावाचन हुने भएको छ । बर्मिङहमस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा मे २६ देखि २८ तारिखसम्म ’श्रीमद्भागवद् गीता अमृत महोत्सव’ हुने तय भएको हो । कथावाचन पण्डित चैतन्यकृष्णले गर्नेछन् । कथावाचनका लागि उनी बेलायत आउने आयोजकले जनाएका छन् ।
पशुपतिनाथ मन्दिर परिसरमै आयोजना हुने कार्यक्रममा २ हजारभन्दा बढी श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रमको मुल आयोजक पशुपतिनाथ मन्दिर, बर्मिङहम हो । यसका साथै शान्ति नेपाली समाज बेलायत, साझा नेपाली समाज यूके, नटिंगहम नेपाली समाज, पिटरबरो नेपाली समाज, सिर्जनशील लेस्टर नेपाल, गल्कोट समाज यूके, हाम्रो नेपाली समाज, नेपाली सेफ एशोसिएसन यूके र गोर्खा नेपाली नेपाली समाज, डर्बीसहित मिडल्याण्ड क्षेत्रमा सक्रिय नेपाली संघसंस्था आयोजकका रुपमा संलग्न छन् ।
कार्यक्रमको प्रचारप्रसार समितिको संयोजक पशुपति पोखरेल र अतिथि सत्कार तथा व्यवस्थापन संयोजकको जिम्मेवारी कृष्ण ढकाललाई दिइएको छ । ‘हामी बेलायतमा बसे पनि हाम्रो धर्म, संस्कार र परम्पराबाट कहिले पनि टाढा रहन सक्दैनौं’, प्रचारप्रसार समिति संयोजक पोखरेलले भने, ‘बेलायतमा जन्मिएका, यतै हुर्किदै गरेका बालबालिका, युवालाई हाम्रो सनातन धर्म, संस्कृतिबारे जानकारी गराउन यो श्रीमद्भागवत कथावाचनको कार्यक्रम सहयोगी हुनेछ भन्ने हामीलाई आशा छ ।’
समारोहको पहिलो दिन मे २६ मा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सुरुका दुई दिन ११ देखि १ तथा दिउँसो साढे बजेदेखि साँझ ६ बजेसम्मका लागि कथावाचन हुनेछ भने अन्तिम दिन बिहान ११ देखि १ र दिउँसो साढे ४ देखि साँझ ६ बजेसम्म कार्यक्रम सञ्चालन हुनेछ । कार्यक्रमबाट संकलन हुने कोष मन्दिरको मर्मतसम्भार तथा स्तरवृद्धिको काममा खर्च गर्ने योजना छ । कथावाचनमा सहभागी हुन बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई आयोजकले अपिल गरेका छन् ।






