पोखरा- यही चैत १ देखि ४ गतेसम्म पोखरामा हुने सार्क मन्त्रिस्तरीय बैठकको पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरालाई अझै सुन्दर पारिएको छ ।
उच्चस्तरीय बैठकलाई लक्षित गरी गरिएको सरसफाइ रङ्गरोगन आदिका कारण पोखरा यतिखेर दुलहीजस्तो बनेको छ ।
काठमाडौँ उपत्यका बाहिर पहिलो पटक हुन लागेको विशिष्टस्तरको बैठकका लागि बाटो मर्मत, रङ्गरोगन तथा आवश्यक सरसफाइसम्बन्धी सम्पूर्ण काम तीव्रताका साथ भइरहेको क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
पोखराको पहिचानसँग समेत जोडेर हेरिएको बैठकलाई सुव्यवस्थित गर्न क्षेत्रीय प्रशासक कोइरालाको संयोजकत्वमा गठन गरिएको मूल व्यवस्थापन सहयोग समिति र उक्त समितिलाई विषयगत रुपमा सघाउन गठित विभिन्न १० वटा सहयोग समितिलाई यतिखेर भ्याइनभ्याइ भएको छ ।
सहयोग समितिअन्तर्गत सुरक्षा व्यवस्था समिति, सौन्दर्यीकरण तथा सरसफाइ समिति, स्वागतद्वार निर्माण समिति, सांस्कृतिक कार्यक्रम समिति, अत्यावश्यक सेवा सञ्चालन समिति, स्वास्थ्य सेवा समिति, विमानस्थल व्यवस्थापन समिति, ट्राफिक व्यवस्थापन समिति, स्वागत व्यवस्थापन समिति, निर्माण तथा पूर्वाधार समिति र सम्मेलन कक्ष व्यवस्थापन समिति रहेका छन् ।






