काठमाडौं- प्रधानमन्त्री केपी ओली नेतृत्वको टोलीलाई चीन भ्रमणका लागि लिन समकक्षी ली खछ्याङले विशेष सुरक्षाजडित विमान नै काठमाडौं पठाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले चैत ७ देखि चीनको पाँचदिने औपचारिक भ्रमण गर्दै छन् । परराष्ट्र स्रोतका अनुसार चीनका विशिष्ट व्यक्तिले मात्र उपयोग गर्ने विमान पठाइने जानकारी प्राप्त भएको छ ।
खासगरी प्रधानमन्त्रीको भ्रमण टोली तय नहुँदा कत्रो विमान पठाउने भन्नेमा चीन सरकार अन्योलमा परेको छ । चीनले विमानको विषय टुंग्याउन ताकेता गरिरहेको स्रोतले जनायो ।
चीनले पठाउने विशेष विमान वा राष्ट्रिय ध्वजावाहक प्रयोग गर्ने भन्नेमा उच्च तहमा बहस भइरहेको स्रोतको भनाइ छ । विशेष सुरक्षा जडित विमान आउने जानकारी गराइएकाले प्रधानमन्त्रीले चिनियाँ विमानै उपयोग गर्ने संकेत गरेका छन् ।






