लण्डन । बेलायतको साउथ इष्ट लन्डनस्थित पशुपतिनाथ मन्दिरमा प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व विशेष पूजा अराधाना गरी मनाइएको छ ।
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनालसहित दुवैजनाका परिवारहरु समेत दर्शनका लागि मन्दिर परिसरमा उपस्थित भएका थिए । बेलायत आएपछि पहिलोपटक मन्दिरमा आएका उनले आफू नेपालमा रहदा नियमित रूपमा पशुपतिनाथ मन्दिरमा जाने र दर्शन गर्ने गरेको बताए। 
राजदूत रेग्मीले आफू धर्मकर्मप्रति अत्यन्तै आस्थावान रहेको भन्दै मन्दिरलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्दिर आउँदा दुख पीडा नष्ट हुने भन्दै सुख-दुख जे परेपनि भगवानलाई सम्झिनु पर्ने उनको भनाई छ ।
उपनियोग प्रमुख खनालले ”कोेभिड १९’ महामारीको चाँडै अन्त्य हुने र यस रोगलाई जितेर नेपालीका दुःखसुख बुझ्ने र साथ दिने अवसर मिल्ने बताइन् । खनालले दूतावास नेपाली समुदायसंग मिलेर काम गर्न तयार रहेको बताएकी थिइन् ।

कोभिड – १९ महामारीकावीच बेलायत सरकारले लागू गरेका प्रतिवन्धहरुको पालना गरेरै सामाजिक दूरी कायम गरी शिवरात्री विशेष पूजा सञ्चालन गरिएको कार्यक्रममा स्थानीय नेपालीहरु लाइनमा बसेर, मास्क लगाएरै पूजामा सहभागी बनेका छन् ।
मन्दिरका मूल पण्डित निलहरी घिमिरेले शुरूमा आरती अर्पण गर्दै शिवलिङ्गमा जल चढाएर पूजाआजाको सुरुवात गरे । कोभिड १९ को कारण सबैलाई आउन सम्भव नभएको कारण मन्दिर परिसरमा थोरैको मात्र उपस्थिती थियो ।
पशुपतिनाथ मन्दिर अध्यक्ष नरेन्द्र कंडेलले छिट्टै नै कोभिड १९ को महामारीको अन्त्य हुने र सबै मिलेर भव्य पूजाआजा गर्न पाउनेमा विश्वास व्यक्त गरे । यसपटक बेलायतमा ४०० केजी परिमाण भएको शिवलिङ्ग सहित मुर्तिहरु नेपालदेखि ल्याइएको अध्यक्ष कंडेलले जानकारी दिए ।उनले मन्दिरमा ठूलो शिवलिंग ल्याइएकोले यसलाई व्यवस्थित तरिकाले मन्दिर परिसरमा राखेर केही समयमै पूजाआजा शुरू गरिने जानकारी दिए ।
पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले कोभिड भ्याक्सिन मन्दिर प्रांगणमा नेपालीलाई खोप सुविधा आउंदो १४ मार्च आइतबार बिहान १० देखि दिउसो ३ बजेसम्म खोप हुने उनले बताए ।कार्यक्रमको अत्यमा अध्यक्ष कंडेलले उपस्थित भक्तजन, दूतावास परिवार सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष डाँसु पाण्डेले उपस्थित श्रद्धालु भक्तजनहरुलाई स्वागत गर्दै उपाध्यक्ष पाण्डले मन्दिरलाई आफूहरुरुले अझै व्यवस्थित तरिकाले लैजान खोजिरहेको भन्दै दूतावासको सहयोग र साथको अपेक्षा रहेको बताए ।
त्यसैगरी कार्यक्रममा महासचिव कल्पना त्रिपाठीले भक्तजन, दूतावास परिवार सबैलाई मन्दिरमा स्वागत गर्न पाउँदा खुशी भएको भन्दै मन्दिर परिवारको तर्फबाट आभार व्यक्त गरिन् ।सो अवसरमा दुई जना आजीवन सदस्यहरु प्रेम श्रेष्ठ र माया दिदीलाई स्वागत पनि गरिएको थियो
कार्यक्रम श्रद्धालु भक्तजनसँगै संस्थापक अध्यक्ष होम शर्मा,एनआरएनए यूके महासचिव फणिन्द्र भट्टराई, ट्रष्टीहरु दिपक श्रेष्ठ, सुरज केसी, रोमनाथ पाण्डे, कोषाध्यक्ष गोपाल अर्याल, र जीवन वाग्ले, दिनेश खरेल,सल्लाहकार तथा कार्यसमितिका सदस्यहरुको उपस्थिती समेत रहेको थियो ।






