प्रवासी नेपाली एकता मञ्च–यूकेले गर्यो राजदूत रेग्मीको स्वागत

लण्डन । प्रवासी नेपाली एकता मञ्च–यूकेले बेलायतका लागि नवनियुक्त राजदूत लोकदर्शन रेग्मी र उपनियोग प्रमुख रोशन खनाललाई स्वागत तथा सम्मान गरेको छ ।

मन्चका अध्यक्ष भक्त गुरुङको अध्यक्षतामा बुधबार भर्चुअल रुपमा भएको कार्यक्रममा राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यता तथा उपनियोग प्रमुख रोशन खनालको विशिष्ट आतिथ्यता रहेको थियो । त्यसैगरी पूर्व अध्यक्षहरु, सल्लाहकारहरु तथा बेलायतमा रहेका नेपाली पत्रकारहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बेलायतस्थित नेपालीको समस्या समाधान गर्न दूतावासले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा राखेको बताए ।

सम्मान ग्रहण गर्दै राजदुत रेग्मीले आफू भूतपूर्व गोर्खाहरुका समस्याबारे अवगत रहेको र वार्ताद्वारा उक्त समस्याको समाधान गर्न आफुले सक्दो प्रयास गर्ने बताए ।

आफ्नो सम्मानमा बुधबार सांझ आयोजित भर्चुएल समारोहलाई सम्बोधन गर्दै राजदूत रेग्मीले नेपाल र बेलायतबीचको बहुआयामिक सम्बन्धलाई थप समृद्ध बनाउन आफुले कुनै कसर बांकी नराख्ने जनाए । उनले यहाँस्थित नेपाली संघसंस्थासंग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

‘जहाँ रहे पनि नेपाल र नेपालीको हित भन्दा माथि अन्य विषय रहने छैन। नेपाल र नेपालीको दिग्विजय हुनु पर्छ। सुख, दुख, अवसर र समस्यामा पनि संगै कार्य गरेर नै हामीले सफलता प्राप्त गर्न सक्छौं। विकास र सभ्यता, जीवन र जगतको हितका लागि हामी काम गरौँ। हाम्रो साथ, सहयोग, समर्थन र सहकार्य संधै रहने छ,’ उनले भने। गत मार्च १ तारिखका दिन लन्डन आइपुगेका राजदूत रेग्मीले सोही दिन नै आफ्नो जिम्मेवारी सम्हालेका थिए।

स्वागत कार्यक्रममा लन्डन स्थित नेपाली दूतावासकी उपनियोगप्रमुख रोशन खनालले बेलायतस्थित नेपाली समुदाय अत्यन्तै परिपक्व र विविधतायुक्त रहेको बताइन् । उनले नेपाली दूतावासबाट प्रदान गरिने सेवाहरु प्रभावकारी र छिटोछरितो बनाउन दूतावासले प्रयास गरीरहेको बताउंदै बेलायतस्थित नेपाली समुदायसंग रहंदै आएको असल सम्बन्ध कायमै रहने विश्वास गरिन ।

अध्यक्ष भक्त गुरुङले दुतावाससँग मिलेर काम गर्न तयार रहेको बताए । उक्त सम्मान कार्यक्रममा स्वागत अभिनन्दन पत्रको बाचन वालकन्या केनिशा गौतमले बाचलन गरेकी थिइन ।

कार्यक्रममा पूर्व अध्यक्षहरु दिनेश घिमिरे, रामशरण सिंखडा, कर्णबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा उपाध्यक्ष रमेश बास्तोलासहित माल्टाका समाजसेवी तथा व्यसायी भवन अर्याल, मन्चका नेताहरु अर्जुन चापागाई, नारायण कँडेल, रामकुमार गुरुङ, तारा भण्डारी, विदुर खत्री, केदार थपलिया लगायतले स्वागत मन्तव्य राखेका थिए । कन्याकुमारी पुजा क्षेत्रीले धन्यवाद मन्तव्य दिएको कार्यक्रमको सञ्चालन महासचिव सुरेशजंग शाहले गरेका थिए ।