काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अनौपचारिक रूपमै माधवकुमार नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेका छन् ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमालेको केन्द्रीय कमिटी बैठक १ चैतमा बोलाउने तयारी छ । त्यसको दुई दिनअघि आफ्नो समूहको बैठक राखेर ओलीले महासचिवबाहेकका सबै पदाधिकारी हटाए ।
बैठकले साबिकको नेकपा दुई खेमामा विभाजित हुँदा आफ्नो समूहले गरेको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्यलाई हटाएर सुवासचन्द्र नेम्वाङ, बाग्मती प्रदेशको इन्चार्जमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवालीलाई हटाएर मणि थापा र सुदूरपश्चिमम प्रदेशको इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ ।
प्रदेश २ का सत्यनारायण मण्डल, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल कायमै छन् । उनीहरु ओली पक्षका नेताहरु हुन् ।
त्यस्तै बैठकले संगठन विभागको प्रमुखको जिम्मा विष्णु पौडेललाई दिएको छ भने विदेश विभागको जिम्मेवारी डा. राजन भट्टराईले पाएका छन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी भने ओली आफैंले लिएका छन् ।
बैठकमा २३ जना माओवादी नेता एमालेको केन्द्रीय कमिटीमा मनोनीत भएका छन् ।
माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसागै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।
ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन् ।
यसैगरी दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गरिने भएको छ ।






