लण्डन प्रहरीद्वारा अपहरणपछि महिलाको हत्या, विरोध गर्ने महिलामाथि प्रहरीले गरेको दमनको चौतर्फी निन्दा

तस्वीर – रोयटर्स

लण्डन । बेलायमा अपहरणपछि हत्या गरिएकी सारा एभरार्डको सम्झनामा भेला भएका मानिसहरुमाथि प्रहरीले गरेको धरपकडको घोर भर्त्सना गरिएको छ ।

गत मार्च ३ मा सारा अन्तिम पटक जीवित देखिएकी थिइन् । त्यसको केही दिनपछि उनको शव फेला परेको थियो । साराको अपहरण र हत्यामा संलग्न भएको आरोपमा लन्डनको महानगरीय प्रहरीका एक जना अधिकारीलाई पक्राउ गरिएको छ। ४८ वर्षीय वेन कोउजेन्स प्रहरी अधिकारीलाई शनिबार अदालतमा पेश गरिएको थियो।

उक्त घटनाको विरोध गर्दै सारा अन्तिम पटक जीवित देखिएको ठाँउमा महिलाहरु हातमा फूल लिएर जम्मा भएका थिए । तर महानगरीय प्रहरीले प्रदर्शनमा उत्रिएका ४ जना महिलाहरुलाई पक्राउ गरेपछि त्यस क्षेत्रको वातावराण अशान्त बनेको छ ।

महिलाहरु प्रहरीमाथि धिक्कार छ तिमीलाई अर्थात शेम अन यू भन्दै चिच्चाएका थिए । उनीहरुले प्रहरीको उक्त कदमले आफूहरु अन्त्यन्तै दुखित र क्रोधित भएको बताए ।

ब्यान्डस्ट्यान्डमा बसिरहेका महिलाहरुलाई प्रहरीले जबरजस्ती हटाउन खोजेको भिडियो पनि सोसल मिडियामा भाइरल भएको छ ।

यता घट्नाको चौतर्फी आलोचना भएको छ । महिला अधिकारकर्मी देखि राजनैतिक दल तथा लण्डनका मेयरले समेत यो कदम ठीक नभएको बताएका छन् ।

लिबरल डेमोक्र्याट नेता सर एड डेभिले कमिशनर डेम क्रेसिडा डिकलाई उनले गरेको एकदम अपमानजनक दृश्यका कारण राजीनामा गर्न आग्रह गरेका छन् । त्यसैगरी गृहसचिव प्रिती पटेलले प्रयस विषयमा प्रतिवेदन सहित जवाफ दिन भनेका छन् ।
डेभिले यस घटनाले लण्डनका लाखौँ महिलाहरुको आत्मविश्वासमा चोट पुगेको बताए । त्यसैगरी मेयर सदिक खानले उक्त दृश्यहरु अनपेक्षित भएको भन्दै कमिसनरबाट जवाफ समेत माग गरेका छन् ।

यता प्रधानमन्त्री बोरिस जोन्सनले पनि साराले पाएको दुख र पीडाले आफू अत्यन्तै दुखि भएको भन्दै उनको सम्झनामा मैनबालेको बालेका छन् । उनले महिलाहरुले पाउने गरेको उत्पीडन तथा समस्याको निम्ती अझै लड्ने समेत बताए ।